नेजाको हिजोको समुदायसंगको अन्तरक्रियाका अन्तर्य र मेरा गन्थन
यतिबेला नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य अमेरिका भ्रमणमा हुनुहुन्छ । नेपाल अमेरिका पत्रकार संघ अर्थात् नेजाको छैठौं साधारण सभामा भाग लिन जुलाई १९ गते अमेरिका आउनु भएका आचार्य अमेरिकाका बिभिन्न ठाउंहरुमा भेटघाटमा व्यस्त हुनुहुन्छ । त्यहि शिलशिलामा टेक्सास आउनु भएका आचार्य नेपाल अमेरिका पत्रकार संघको नबनिर्बाचित कार्यसमितिको तर्फबाट स्वागत एबम समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रममा हिजो जुलाई २९ गते सामेल हुनु भयो । प्रश्नोत्तरको क्रममा उठेका प्रश्नहरु मध्ये एउटा बाहेक सबै प्रश्नहरुको जवाफ समेत उहाँले दिनु भयो । उद्देस्य अनुरुप कार्यक्रम सफलता पुर्बक सम्पन्न भयो । कार्यक्रममा नेजाले हालसालै प्रदान गरेको लाइफ टाइम अचिभमेन्ट अवार्ड पत्रकार तथा समाजसेवी सुरेश चन्द्र पोखरेललाई अतिथिको हातबाट प्रदान गरियो भने कार्यक्रमको संचालन नेजाका सचिव सुरज भण्डारीले अत्यन्त सुन्दर तरिकाले गर्नु भयो।
प्रारम्भिक रुपमा यो कार्यक्रम नेजाको नयाँ कार्यसमिति र अध्यक्ष आचार्यसंग भलाकुसारी गर्नु थियो । तर यसलाई अझै प्रभावकारी बनाउन अन्तिम समयमा समाजसेवा गर्ने नेपाली संस्थाका प्रतिनिधिहरुसंग पनि अन्तरक्रिया किन नगर्ने भन्ने सोंच पछि यस्तो कार्यक्रम तय भएको हो । कार्यकर्ममा खास गरी पत्रकारहरुको समाजमा भूमिका कस्तो हुनु पर्छ र कस्तो भैराखेको छ भन्नेमा केन्द्रित भएर सहभागीहरुले जिज्ञासा र विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रम रोचक र घोचक रुपमा अघि बढेको थियो भने प्रश्नोत्तरको क्रममा जनसम्पर्क समितिका डालस फोर्ट वर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सोधेको ३३ किलो सुन प्रकरणमा पत्रकारहरुले ठुला माछाको बारेमा लेख्न नसकेको कुरालाई उठाउँदा त्यसमा कमजोरी भएको अध्यक्ष आचार्यले स्वीकार गर्नु भएको थियो ।
धेरै जसो कार्यक्रमहरुमा मेरा व्यक्तिगत प्रश्न हुदैनन् । अरुकै प्रश्न र त्यसका उत्तरले मेरो जिज्ञासाहरु शान्त हुन्छन । यो कार्यक्रममा भने मैले लेखेका समाचार र बिचारको बारेमा प्रश्न उठेको जस्तो लाग्यो । मेरै बारेमा हो भनेर ठोकुवा गर्न नसके पनि कतिपय अबस्थामा मेरो शैलीको बारेमा प्रश्न उठेकोले मलाई पनि त्यो प्रश्न थियो भन्ने मेरो बुझाई छ । मैले आज यहाँ त्यसको जवाफ दिन प्रयास गरेको छु ।
पहिलो कुरा त हिजो त्यहाँ भनिए जस्तै हामी पूर्णकालीन पत्रकारिता गर्दैनौं, सामुदायिक पत्रकारिता गर्छौं । हामीले गर्ने पत्रकारिता रोजीरोटीसंग कुनै सम्बन्ध राख्दैन । पत्रकारिता गरेर अमेरिकामा प्रत्यक्ष कमाइ सायदैले गर्छन । म आफुलाई पत्रकार भनेर कहिल्यै भन्दिन । मलाई पत्रकारिताको शिद्धान्त थाहा छैन । म आफ्नो मनमा लागेका गन्थन पस्किने मान्छे हुँ । यी गन्थन कहिले कसलाई मन पर्छ, कहिले कसलाई मन पर्छ । निजि विचार स्वतन्त्र रुपमा लेख्ने भएकै कारण म समाजका कथित नेताहरुको नेटवर्क भित्र पर्दिन । मलाई त्यसमा चिन्ता छैन, बरु गर्व छ ।
सायद २ बर्ष अगाडिको तीजको कार्यक्रम थियो । त्यसमा नेपाली समाज टेक्सास र इन्द्रेणी सांस्कृतिक संघले पहिलो पटक संयुक्त रुपमा तीज कार्यक्रम आयोजना गरेका थिए । दुइ वटा संस्थाहरुको कार्यक्रम भएकोले त्यसमा अलि असहज परिस्थिति सिर्जना भएको थियो । कता कता को ठुलो भन्ने इगो पनि त्यहाँ प्रस्ट देखिएको थियो । तीजको कार्यक्रम भएकोले धेरैले भाषण नगर्ने कार्यक्रम तय भएको थियो । महिलाहरुको चाड भएकोले एकजना महिलालाइ सुभकामना दिने, तीजको महत्व बारे प्रकाश पार्न समाजसेवी यमुना भट्टराईलाइ बोल्न समय दिइएको थियो । त्यसमा उहाँले अभिव्यक्त गरेका कुराहरुको मैले आलोचना गरेर अर्को दिन एउटा लेख प्रकाशित गरेको थिएँ ।
हिजोको कार्यक्रमा उहाँले पत्रकारहरुले महिलाहरुलाई समाजमा नेतृत्व गर्ने कुरामा सहयोग नगरेको, रंगका आधारमा लेख्ने गरेको गुनासो गर्नु भएको थियो । तर त्यति बेला उहाँले व्यक्त गरेका विचारहरु गलत थिएनन तर गलत ठाउँमा प्रस्तुत गरेकोले मैले आलोचना गरेको थिएँ । तीज जस्तो सांस्कृतिक कार्यक्रममा उत्तेजक भाषण गर्नु उपयुक्त हुन्न भन्ने मेरो भनाइ थियो । उहाँले उत्तेजक भाषण गर्दै पुरुषहरुलाई लल्कार्दै सुध्रिन चेतावनी दिनु भएको थियो । कुनै पार्टीको भगिनी संगठनमा गरिने उत्ताउलो भाषण त्यहाँ गर्न उपयुक्त थिएन भनेर आलोचना गरिएको हो । त्यहाँ महिला भएकै आधारमा मैले उहाँको आलोचना गरेको थिइन । त्यसपछिका उहाँका अभिव्यक्तिमा मैले कहिल्यै त्यति आक्रोश देखेको छैन । यमुना दिदि, तपाईंको नेतृत्व डालसको नेपाली समाजलाइ आबस्यक छ । तपाईंका समाजलाई काम लाग्ने भिजनलाइ समाजमा लैजाने सेतुको काम गर्न हामी तयार छौं । मलाई लाग्छ, कुरा यहाँ लेखाइको मात्र होइन, त्यसलाई बुझ्ने तरिकाले पनि फरक पर्छ ।
हिजोको कार्यक्रममा नेजाका क्षेत्रिय सभापति रामचन्द्र भट्ट र एनआरएनए अमेरिकाका मेडिया कोअर्डिनेटर बाल जोशीका विचारहरुसंग म सहमत छु । हाम्रो काम प्रशंसा गर्ने मात्र होइन, आलोचना गर्ने पनि हो । समाजमा भएका गलत क्रियाकलापहरु बिरुद्ध चुप लागेर बस्नु मात्र सामुदायिक पत्रकारिता होइन । समाजमा कुनै चेली माथि दुर्ब्यबहार भएको घटनामा कलम चलाउंदा पक्कै पनि दुर्ब्यबहार गर्नेले जाती मान्ने कुरै भएन । पत्रकारको काम राम्रा कामको प्रशंसा र नराम्रा काम गर्दा समाजमा प्रश्न उठ्छ र प्रश्न उठाउन सक्ने हिम्मत भएका व्यक्तिहरु समेत छन् भन्ने तरिकाले आफ्नो सामाजिक पत्रकारितालाई उपयोग गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।
मानवीय स्वभाव हो, सबैले आफ्नो बारेमा राम्रै लेखेको रुचाउँछन् । आफ्ना कमजोरी वा गल्ति बारे प्रश्न उठ्दा चस्स दुख्नु अस्वाभाविक होइन । तर कलम चल्नेहरुको धर्म राम्रोलाइ राम्रो भनिरहने मात्र होइन, त्यहाँ रहेका कमजोरी देखाउने पनि हो । अमेरिकाका वर्तमान रास्ट्रपतिले प्रेसलाइ अमेरिकी जनताको दुश्मन भन्ने गरेका छन् । उनले आफुलाई मन नपर्ने वा आलोचना गरिएको विचारहरुलाई पक्षपात भन्छन भने आफ्ना कर्तुत सामु ल्याउँदा त्यसलाई फेक न्युज अर्थात् नक्कली समाचार भनेर टयाग लगाइदिने गरेका छन् । त्यसले गर्दा सत्तासिनहरु अराजक, तानासाह र अनुशासनहिन नहुन भनेर चौकीदारको रुपमा उभिने पत्रकारिताले ठुलो चुनौती सामना गरिरहनु परेको छ । आफ्नो पक्षमा लेख्दा बोलाएर भोज दिने र आफ्नो आलोचना गर्दा आफ्ना सार्बजनिक कार्यक्रमहरुमा निम्तो समेत नदिने चलन नेपाली समाजमा पनि ब्याप्त छ ।
प्रश्नोत्तरको क्रममा समाचार र विचार छुट्टाउन पत्रकारहरुलाई अनुरोध गरिएको थियो । मेरो लेखाइ चाहिं यस मानेमा खिचडी नै हुन्छ । समाचारमा कहीं कतै मौका मिल्यो भने मैले मेरो विचार खुस्स घुसाउने गर्छु । तर त्यसको अर्थ समाचारलाई बिगार्ने वा तोडमरोड गर्ने होइन रोचक बनाउने उद्देस्य हुन्छ । मलाई लाग्छ अहिलेका पाठकहरुले समेत पत्रकारहरुको इन्पुटलाइ सामान्य रुपमा लिन थालेका छन् । त्यसमा राखिएका तथ्यहरुलाई समाचारकै रुपमा र घुसाइएका बिचारहरुलाई विचारकै रुपमा बुझ्दा सजिलो हुन्छ । समाचार मात्रै दिंदा राम्रो त हो तर त्यति निराकार हुन पनि निकै गाह्रो हुन्छ ।
कार्यक्रम समापन हुँदै गर्दा प्रश्नकर्ता मध्यका डाक्टर अर्जुन बन्जाडेले आफ्नो प्रश्नको उत्तर नमिलेको गुनासो समेत गर्नु भयो । नेपालमा प्रश्न सोधेकै भरमा पत्रकारको जागिर गएको बिषयमा नेपाल पत्रकार महासंघले किन मौनता देखायो भन्ने प्रश्नमा अध्यक्ष गोविन्द आचार्यले जवाफ नदिएको उहाँको गुनासो थियो । भर्खर दुइ तिहाइको स्थिर सरकार बनेको अबस्थामा यसलाई धेरै पेल्न्न हुन्न भन्ने मानसिकता हो वा के यो यस मामिलामा नेपाल पत्रकार महासंघ भने चुकेकै देखिन्छ । एउटा प्रश्नको चित्त बुझ्दो जवाफ दिन नसक्ने मन्त्रीलाई कारबाही गर्नुको सट्टा प्रश्न गर्नकै लागि जागिरमा लगाइएको पत्रकारको जागिर खोस्दा समेत चुप लागेर पत्रकार महासंघले गम्भीर गल्ति गरेको छ । यो प्रश्नको उत्तर उहाँले दिन नचाहेर होइन, प्रश्न टिप्दा छुटेको हुन सक्छ । सायद उहाँ नेपाल नफ़र्किदै यसको उत्तर आउने आशा गरौँ ।
प्रस्तुति: लेखनाथ गौतम