सिधा कुरा जनता संग, नेपाली जनता रवि लामिछानेसंग

अमेरिका आउने धेरै नेताहरुले हामीलाई भन्ने गरेका छन्, नेपालमा ठीकठाक छ । तिमीहरुले सक्छौ नेपालमा लगानी गर, सक्दैनौ नेपालको बारेमा बिदेशमा बसेर नेपालमा नेतालाई गालि नगर। तिमीहरु अवसर नपाएर गएको भन्या होइन, अवसर पाएका छौ, पैसा कमाउ र मस्ती गर।
कतिपय नेपाली जनताहरु पनि विदेश जानेलाई भगौडा भन्छन र उनीहरुको आलोचना गर्न मन पराउँछन। काम चाहिं तिमीहरुले बिदेशमा गर्ने, मान चाहिं नेपालमा खोज्ने, उनीहरु यस्तो भन्छन। विदेश जानको लागि सम्पूर्ण अस्त्र प्रयोग गरिरहेको मान्छे पनि विमानस्थल नपुग्ने बेला सम्म प्रबासीहरु प्रति त्यति सकारात्मक भएको पाइन्न । जब बिदेशी माटोमा त्यसले टेक्छ, सबै परिभाषा बदलिन्छन । आफु जन्मे हुर्केको देश प्रतिको माया अचानक बाढी झैं उर्लेर आउँछ ।
खोइ किन हो कुन्नि, बिदेशमा आएका हामी नेपालीहरु नेपालकै बढी माया र चिन्ता गर्छौं । नेपालमा भुकम्प जाँदा हामी यहाँ रुन्छौँ, चन्दा संकलन अभियान चलाउँछौं र नेपाल पठाउँछौं । तराइमा बाढी र पहाडमा पहिरो जाँदा अमेरिकाका पसलहरुमा दान पेटिका राखिन्छन । नेपालमा कसैको किड्नीले काम गर्न छोड्यो भने यहाँ गोफंड एकाउन्ट खोलिन्छ । नेपालमा बच्चा पढाउन यहाँका बच्चाहरुले पिगी बैंक अर्थात् खुत्रुकेमा पैसा जम्मा पार्छन र देखिने जति रकम भए पछि नेपाल पठाउँछन् ।
बिभिन्न परिस्थितिले बिदेसिन बाध्य नेपालीहरुको बस्ने चाहना भने नेपालमै छ । प्रत्यक्ष रुपमा नेपालका घटनाहरुले पिडित वा लाभान्वित नभए पनि त्यसमा उनीहरु चासो राख्छन । गालि खाएर पनि नेपालमा भएगरेका नराम्रा कामहरुको भद्र भाषामा आलोचना गर्छन । डाक्टर गोविन्द केसीको आन्दोलनले उनीहरुलाई प्रत्यक्ष कुनै फाइदा वा बेफाइदा नभए पनि आफ्नो अभिमत प्रकट गर्छन । आफु जन्मेर हुर्केको देश, आफ्नो माटोको मायाले ६ घण्टा सुतेको समय बाहेक नेपालकै चिन्ता गर्छन । लामो समय सम्पर्क हुन नसकेका आफन्त मलाई गुनासो गर्छन,” तैंले हामीलाई बिर्सिस, त्यतै मस्ती गरेर बस” । मैले भन्ने गरेको छु,” बिर्सेर मस्ती गरेको छैन, बिर्सिन नसकेर मस्ती गर्न पाएको छैन हजुर” । अधिकांश नेपालीहरुको त्यहि हालत हो, मलाई लाग्छ, बिदेसिन बाध्य हरेक मान्छेको यहि समस्या हो चाहे त्यो कंगोको गृहयुद्धबाट भागेको शरणार्थी नै किन नहोस ।

भौतिक रुपमा देशमा नभए पनि हामी भावनात्मक रुपमा नेपालमै छौं । हामी बर्गर होइन, दालभात रुचाउँछौं । यहाँ बस्न होइन नेपाल फर्किन चाहन्छौं । कतिपय नेपाल फर्केर केहि गर्न शुरु पनि गरिसकेका छन् । यसको ज्वलन्त उदाहरण पत्रकार रबि लामिछाने हुन् ।
मलाई सम्झना छ, रबि लामिछानेले बिनोद मानन्धरको “द क्ल्याप” भन्ने फिल्मी कार्यक्रममा “तातो पिरो” भन्ने सानो खण्ड चलाउँथे । यसोउसो गर्दा गर्दै उनी अमेरिका पुगे र अमेरिकामा पनि राम्रै सफलता हाँसिल गरे । जति सफलता हाँसिल गरे पनि उनको लक्ष भने नेपाल थियो र नेपालमै गैर केहि गर्ने चाहना । त्यसैले सारा सुबिधा त्यागेर नेपाल फर्के । न्युज २४ च्यानलमा सबभन्दा लामो समय सम्म कार्यक्रम चलाएर बिस्व रेकर्ड समेत बनाइसकेका लामिछाने नेपालमा राम्रो काम गर्दैछन ।
भनिन्छ, राम्रो काम गर्ने हो भने साथ पाइन्छ । तर रबि लामिछानेले जनस्तरबाट बाहेक सरकारी र अन्य निकायबाट सहयोग पाएनन । कहिले अमेरिकी नागरिकताको मुद्धा उचालियो भने कतिबेला वर्क परमिटको । एउटा नेपालमै जन्मेको नेपाली बिदेशमा गएर केहि ज्ञान सिकेर नेपाल फर्केर राम्रो काम गर्न चाहन्छ भने त्यसलाई हरेक खालको सहयोग गर्नु पर्छ । सबै युवा बिदेसिएर गाउँबस्तीहरु रित्ता भैसकेको अहिलेको स्थितिमा जे सुबिधा दिन सकिन्छ त्यहि दिएर उर्जावान युबाहरुलाई नेपाल फर्किन सहयोग गर्नु पर्छ । “ए यत्रो दिन बिदेस बसेर आएर हामीलाई सिकाउने” ? भनेर उसलाई असफल पार्न हरेक खालका हर्कत गर्ने होइन, उसले भन्दा राम्रो गर्छु भनेर प्रण गर्नु पर्छ । पैसा र पावरको भरमा करोडौं नेपालीहरुको अवाज बोलेका रविको मुख बन्द गर्न उनी आफैले शुरु गरेको पत्रकारिता पेशाका मै हुँ भन्ने कथित पत्रकारहरु समेत लाग्नु लाजको बिषय हो । उनीमाथि न्यायाधिश बन्न खोजेको आरोप पनि लागेको पाइन्छ ।

स्तम्भकार: लेखनाथ गौतम

धेरैको बुझाई के छ भने पत्रकारले समाचार लेख्ने हो, भन्ने हो, त्यसको लेखाजोखा गर्ने काम पाठक को हो । पत्रकारहरुले विचार राख्न पाइन्न । तर त्यो कुरा सहि बुझाइ होइन । रवि लामिछानेले उठाएका आवाज सहि छन् कि छैनन्, हामीले त्यो हेर्नु पर्छ । एक सचेत र आफ्नो देशको चिन्ता लिने नागरिकको रुपमा उनले जुनसुकै पेशा अंगाले पनि बिकृति, विसंगति, भ्रस्टाचार, अन्याय र अत्याचार बिरुद्ध लेख्न, बोल्न पाउँछन् । उनले उठाएका मुद्धाहरु गलत छन् भने त्यसमा पक्कै पनि प्रश्न उठाउन सकिन्छ तर राम्रो काम गर्ने अधिकार सबैमा छ ।
यतिबेला रबि लामिछानेले सानै स्केलमा भए पनि अनुसन्धानात्मक र परिणाममुलक पत्रकारिता संचालन गरेका छन् । लामो समय अमेरिका बसेका रबि लामिछाने अमेरिकाको पत्रकारिता पनि राम्रै बुझेका छन् । पत्रकारहरुको अनुसन्धानात्मक प्रस्तुति कै कारण अमेरिकी रास्ट्रपति रिचार्ड निक्सनले राजिनामा दिन बाध्य भएका थिए जसमा उनले तत्कालिन डेमोक्र्याटिक पार्टीको कार्यालयमा ५ जना लुटेरा पठाएर त्यहाँका सामाग्रीहरु लुटेको घटना दवाउन प्रयास गरेका थिए । अनुसन्धानात्मक पत्रकारिता यतिबेला संकटमा छ किन भने यसमा धेरै समय, पैसा र जनशक्तिको खाँचो पर्छ । आफै बिरुद्ध प्रयोग हुने हुनाले सरकारहरुले यो क्षेत्रमा पैसा लगानी गर्दैनन् । रबि लामिछानेको यो प्रयास त्यहि अनुसन्धानात्मक र जवाफदेही बनाउने पत्रकारिताको रुप हो ।
त्यसैले हामी रबि लामिछाने जस्ता पत्रकारहरुको पक्षमा उभिएर बोल्नु पर्छ । समर्थनको एउटा सानो अवाज पनि उनको अभियानमा उर्जा हुन सक्छ । यस्ता बिषयमा नबोलेर चुप लाग्नु भेनेको पनि प्रकारान्तरले उनले उठाएका मुद्धाहरुको समर्थन नगर्नु हो । उनीमाथि गरिएका आक्रमणहरुलाई अरु प्रेरित गर्नु हो । त्यसैले आउनुहोस् आफ्नो आफ्नो ठाउंबाट सकिन्छ आफै रबि लामिछाने बनौं, सकिन्न रबि लामिछानेहरुलाई समर्थन गरौँ । राम्रा मान्छे जति धेरै त्यति राम्रो, नराम्रा मान्छे जति थोरै भयो समाज राम्रो हुँदै जान्छ । धेरै होइन हाम्रो देशमा २/४ सय रबि लामिछानेहरु र २/४ सय गोविन्द केसी जन्मिनु पर्छ । राम्रा कामको समर्थनलाई राजनीतिको बिल्ला भिराएर मुद्धा कम्जोर बनाउने होइन, सहि मुद्धाको समर्थनलाई आफ्नो राजनीतिक चस्मा फुकालेर मुल्यांकन गर्नु पर्छ । मेरो बिचारमा यो नै समस्याहरुको  समाधान गर्ने उपयुक्त तरिका हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907