खुल्यो डिपिएलको अक्सन आवेदन, विदेशी खेलाडी अनिवार्य
सर्वाधिक पुरस्कार राशीको नेपाली घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो संस्करण आगामी चैत १७ गतेबाट हुने भएको छ। डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई खेलाडी बोलकबोल(अक्सन) को आवेदन भराउँदै फाराम खुलेको जानकारी दिइएको हो।
अक्सनमा सहभागी हुन चाहेने खेलाडीहरुले डिपिएलको अफिसियल वेवसाइटमा गई आवेदन दिन सक्ने प्रतियोगिताका निर्देशक सुवास शाहीले जानकारी दिए। बुधबारबाट आह्वान गरिएको आवेदन माघ २५ गतेसम्म कायम गरिने उनले बताए।
दर्ता भएका खेलाडीहरुलाई अक्सनमा राखिने भएको छ। आगामी फागुन ५ गते हुने अक्सनमा प्रत्येक टोलीले खेलाडीहरुकाे बोलकबोल गरि अाफुसँग अनुबन्ध गर्नेछन्। त्यसअघि डिपिएल–२ खेल्ने टोली र रणनितिक खेलाडीको निर्णय लिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजकले प्रत्येक टोलीलाई दुई विदेशी तथा ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ।
क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउन आफूहरुले प्रयास गरिरहेको र त्यसलाई निरन्तरता दिइने शाहीले बताए।
क्रिकेटिङ कल्चरलाई निरन्तरता दिदै यसपटक डिपिएलले टिकेटिङ पार्टनरका रुपमा ई—सेवास“ग सम्झौता गरिएको छ। आयोजक धनगढी प्रिमियर लिगले यसअघि नै विजय डिस्टिलरीको रुस्लान क्रिकेटसंग मुख्य प्रायोजन सम्झौता गरिसकेको छ।
खेलाडी वर्गिकरण
अक्सनमा दर्ता हुन चाहाने खेलाडीलाई तीन तहमा वर्गिकरण गरिएको छ।
पछिल्लो तीन वर्षयता राष्ट्रिय टोलीबाट खेलेको तथा कम्तिमा १५ अन्तराष्ट्रिय खेल खेलिसकेको खेलाडीलार्इ ए श्रेणीमा राखिएको छ भने बी श्रेणीका उमेर समूहबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका तथा बाँकी राष्ट्रिय खेलाडीहरुलाई राखिएको छ। सी श्रेणीमा अन्य सम्पूर्ण अनक्याप खेलाडीहरु छन्।
अक्सनबाट एउटा टोलीले ए श्रेणीबाट कम्तिमा २ तथा बढी ३, बी श्रेणीबाट कम्तिमा ३, तथा सी श्रेणीबाट कम्तिमा ५ खेलाडी लिनुपर्ने प्राबधान राखिएको छ।
सर्वाधिक पुरस्कार राशी
गत वर्ष आयोजित डिपीएलको पहिलो संस्करण भन्दा यसवर्ष पुरस्कार राशी झण्डै दोब्बर बनाइएको छ। गतवर्ष साढे २८ लाख बराबरको पुरस्कार राशी रहेको प्रतियोगिताको यस वर्ष ५० लाख बराबरको पुरस्कार मात्रै रहने आयोजकले जनाएको छ।
करिब तीन करोडको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने भएका छन्। पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैया पाएका थिए। यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशी हो।
यसपटक डिपीएलको विजेता, उपविजेतासँगै तेस्रो र चौथो हुने टोलीले पनि पुरस्कार पाउने व्यवस्था गरिएको छ। तेस्रो हुने टोलीले नगद तीन लाख तथा चौथो हुने टोलीले दुई लाख पाउने आयोजकले जनाएको छ। डिपीएलका प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको नाम उचो बनाउन सघाउ पुर्याउने एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने भएको छ। दुबै सम्मानको पुरस्कार राशी समान १—१ लाख रुपैयाँ रहने शाहीले बताए।
टी–२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन् भने शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्ने र पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
यसरी सुरु भयो डिपीएल
सन् २०१० मा सुवाश शाही नेतृत्वको टोलीले धनगढीमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को अयोजनामा एसपीए कपको सुरुवात गरेको थियो। पहिलो एसपीए कप ४ लाखको बजेटमा आयोजना गरिएको थियो भने प्रतियोगिताको विजेताले २५ हजार नगद पुरस्कार पाए।
सन् २०११ मा एसपीए कप १३ लाख बजेटमा आयोजना गरियो जसको प्रथम पुरस्कार राशी १ लाख थियो भने सन् २०१३ मा २५ लाख बजेटमा प्रथम पुरस्कार २ लाख दिदै एसपीए कपको समापन गरियो। एसपीए कपको चौथो संस्करण २०१५ मा ६० लाखको बजेटमा गर्दा विजेताले ५ लाख तथा उपविजेताले ३ लाख पाएका थिय। त्यसवेला नै यो राष्ट्रको सवैभन्दा ठूलो धनराशीको क्रिकेट प्रतियोगिता थियो।
प्रतियोगिता निर्देशक शाही एसपीएका निर्देशक हुनुका साथै धनगढी क्रिकेट एकेडेमी(डिसीए) का अध्यक्ष पनि थिए। शाहीको नेतृत्वमा डिसिएले सोही वर्ष नया कन्सेप्टका साथ क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनमा आधारित धनगढी क्रिकेट लिग (डीसीएल) को आयोजना गरे।
राष्ट्रियस्तरमा खेलाडीहरुको अक्सन गरि वृहत प्रतियोगिता सञ्चालन गर्ने उदेश्यले गत वर्ष एसपीए कप र डीसीएललाई मर्जर गरी डीपीएल आयोजना गरिएको हो। यसको बजेट १ करोड ८२ लाख थियो भने पुरस्कार राशी मात्रै २८ लाख ५० रुपैया“ दिइएको थियो। विजेताले १५ तथा उपविजेताले ७ लाख पाएका थिए। सोही प्रतियोगिताको दोस्रो संस्करण स्वरुप डिपीएल–२ घोषणा गरिएको हो।
प्रतियोगिताको मुख्य प्रयोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटसँगै सह–प्रयोजकमा रैका टुर्स एण्ड ट्राभल्स, होटल डिभोटी, बेल्स क्याफे, चौधरी बुक डिपोले साथ दिएका छन् भने प्रतियोगिताको प्रबर्धकहरुमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, धनगढी उपमहानगरपालिका, होटल व्यवसायी संघ कैलाली, जिल्ला विकास समिती कैलाली, क्रिकेट प्लेयर्स एशोसियसन अफ नेपाल रहेका छन्।
( श्रोत : nepalkhabar )