नेपाली समाज टेक्सासले बाढीपिडित सहयोगार्थ २० अगस्तमा गाला डिनर गर्ने
डालस, अगस्त १७। नेपाली समाज टेक्सास प्रबाशमा रहेका नेपाली संघ संस्थाहरु मध्ये सबभन्दा सक्रिय संस्था हो। डालसको वरपर रहेका नेपालीहरुको भैपरी आउँदाको साथी हो यो संस्था। दैबी प्रकोप र समस्या पर्दाको पनि साथी हो नेपाली समाज टेक्सास। त्यसो त यसले आफ्नो कार्यक्षेत्र डालस मात्र मान्दैन। मर्दा पर्दा अमेरिकाभरि मात्र होइन नेपालमा पनि यसले आफ्नो सहयोगको हात फैलाउँछ। २०१५ मा भुकम्प जाँदा प्रबाशी संस्थाहरु मध्ये सबभन्दा बढी रकम संकलन, स्वयंसेवी पठाउने संस्था पनि यहि हो ।
यतिबेला नेपालमा बाढीका कारण अर्को बिपत्ति आइलागेको छ। गत साता मात्र गो फन्ड स्थापना गरेर पचास हजार डलर रकम उठाउने लक्ष राखेर अघि बढेको नेपाली समाज टेक्सासले रमाइलो रेस्टुरेन्टको सहयोगमा अगस्त २० आइतबार बेलुकी एक फन्ड रेजिंग गाला डिनर आयोजना गरेको छ। उक्त कार्यक्रमको लागि रमाइलो रेस्टुरेन्टले हल र खाना लगायत सम्पूर्ण कुरा निशुल्क उपलब्ध गराउने छ भने कलाकारहरुले पनि बिना शुल्क सहभागीहरुलाई मनोरंजन दिनेछन। कार्यक्रममा उठेको रकम शतप्रतिशत बढीपिडितको राहतमा खर्च गरिनेछ।
गाला डिनर सहित नेपाली समाज टेक्सासले संकलन गरेको रकम उपयुक्त र भरपर्दो च्यानल मार्फत सिधै बाढीपिडित परिबारलाई उपलब्ध गराइने कुरा संस्थाका महासचिव कमल सत्यालले युएसएंड नेपाल डट कमलाइ जानकारी गराउनु भएको छ भने सम्पूर्ण समाजसेवी एबम आम नेपाली दाजुभाईहरुलाई अनुरोध समेत गर्नु भएको छ। यस्ता परोपकारी काम जारी राखोस, उठेको रकम सहि ठाउँमा र सहि तरिकाले सदुपयोग होस् सबैको चाहना र शुभकामना छ।