कोशी बाँध खोल्न विद्यार्थी संगठनको माग
काठमाडाँै, ३० साउन । संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ ।
आज बसेको छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको अनेरास्ववियु अध्यक्ष नवीना लामाले बताउनुभयो ।
यसैगरी बैठकले बाढीपीडितलाई राहतका लागि मृतकका परिवारलाई सरकारले दिने भनेको रु दुई लाख र घरविहीन भएका परिवारलाई रु १० लाख उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले सांसद् र स्थानीय तहका जनप्रतिनिधिहरुले एक महिनाको तलब तथा राष्ट्रसेवक कर्मचारीबाट एक हप्ताको तलब नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने निर्णय समेत गरेकोे छ ।
यसैगरी विद्यार्थी संगठनहरुतर्फबाट रु तीन लाख ५० हजारको राहत कोष निर्माण पनि गरिएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले विद्यार्थी संगठनका तर्फबाट राहत संकलन गर्नका लागि अनेरास्ववियुका अध्यक्ष लामाको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समितिमा सबै संगठनबाट एक÷एक जना सदस्य रहने भएका छन् ।
त्यस्तै बाढी प्रभावित जिल्लामा उद्धार र राहतका कार्यलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ । बाढी प्रभावित जिल्लामा उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संघका उपाध्यक्ष शाहीले बताउनुभयो । “बाढी प्रभावित २६ जिल्लालाई केन्द्रित गरी राहत र उद्धारका लागि आ–आफ्नो संगठनमार्फत परिचालित हुनेछाँै”– उहाँले भन्नुभयो, “भोलिदेखि नै हामी बाढी प्रभावित क्षेत्रमा जान्छौँ ।”
बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष अनिल शर्मा, नेपाल विद्यार्थी संघका पुष्पकुमार शाही, नयाँ शक्ति विद्यार्थी फोरमका संयोजक रमेशकुमार महतो, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका उपाध्यक्ष सौगेन्द्र मण्डल र समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक शाहीको सहभागिता थियो ।