नेपाली समाज टेक्सासले बाढीपिडितको लागी सहयोग संकलन गर्दै: तीजको कार्यक्रम पनि सम्पन्न
डालस, अगस्त १३। नेपाली समाज टेक्सासको आयोजनामा हिजो दुइवटा बिशेष कार्यक्रम सम्पन्न भए। दिउसो नेपालमा गएको बिनासकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिको बारेमा आकस्मिक बैठक भयो। समाजका अन्य अगुवाहरुको समेत उपस्थितिमा सम्पन्न उक्त बैठकले आर्थिक र अन्य खाले सहयोग जुटाउने, अर्थ संकलनको लागि गोफंड स्थापना गर्ने लगायतका निर्णयहरु गर्यो। अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकले बाढीले पुर्याएको जनधनको क्षति प्रति दुख ब्यक्त गर्दै सहयोगको लागि सबैमा अपिल गरेको छ।
हिजै साँझ तीजको अबसरमा आयोजित पुर्बनिर्धारित कार्यक्रम “तीज बिशेष” सम्पन्न भयो। नेपालमा बाढी गएर जनधनको क्षति भएको अबस्थामा यो कार्यक्रम रोक्ने कि गर्ने भन्नेमा अन्योल उत्पन्न रहे पनि सम्पूर्ण तयारी भैसकेको अबस्थामा आफ्नो तर्फबाट गर्न सक्ने भौतिक, आर्थिक वा अन्य सहयोग जारी राख्दै तीज कार्यक्रम जारी राख्न उचित नै हुन्छ भन्ने जनभावना अनुरुप उक्त कार्यक्रम नरोकिएको उपाध्यक्ष कमल सापकोटाले जानकारी दिनुभयो। तीज बिशेष कार्यक्रम भनेर नाचगान गरिए पनि बाढी पिडितको सहयोगार्थ चन्दा संकलन पनि गरिएको थियो। “हामीले नेपाल प्रतिको दायित्व पूर्ण रुपमा निर्बाह गर्दै र यहाँका चेलीहरुको तीज प्रतिको चासो समेत एकै चोटी सम्बोधन गरेका हौँ” सापकोटाले स्पस्ट पार्नु भयो।
उक्त तीज कार्यक्रम अर्भिंग मल स्थित एक हलमा सम्पन्न भएको थियो। ५०० जना भन्दा धेरैको उपस्थिति रहेको उक्त तीज बिशेष कार्यक्रममा यसपाली भाषणको यातना कसैले भोग्नु परेन। शुरु देखिनै केहि सेकेन्डको औपचारिक दुइ शब्द पछि सिधै नाचमा प्रवेश गरिएको थियो। एकल, जोडी आदिको नृत्य शुरु गरेर कार्यक्रम अगाडी बढाउने आयोजकको चाहना देखिए पनि प्रिया घिमिरे र दिपा बिस्टको नाच बाहेक कसैले नाच्ने अवसर पाएनन। कारण शुरु देखि नै सबै जना नाच्न शुरु गरेका थिए। डिजे मोमोले अत्यन्त चर्चित र रमाइला नाचू नाचू लाग्ने गीत बजाउन शुरु गर्ने बित्तिकै सबैजना फराकिलो हलको बिचमा रहेको नृत्यस्थलमा ओइरिएका थिए। त्यस पछि एकल र जोडी नृत्य बन्दा गरिएको थियो।
“तीजमा चेलीबेटीहरुलाई दर खुवाउन यो कार्यक्रम आयोजना गरिएको हो” महासचिव कमल सत्यालले जानकारी दिए। यस्तो ब्यबस्थित र सुन्दर हलमा कार्यक्रम गर्दा र खानाको लागि थुप्रै खर्च हुन्छ तर स्थानीय समाजसेवी र चन्दादाताहरुको सहयोगमा निम्नतम प्रवेश शुल्क लिएर खाना निशुल्क व्यवस्था गरिएको थियो। कार्यक्रम अबधिभर नेपाली समाज टेक्सासका पदाधिकारीहरु र अन्य स्थानीय स्वयमसेवीहरुले खटेर ब्यबस्थापन गरेका थिए। कार्यक्रमको संचालन निलिमा बादे श्रेष्ठले गरेकी थिइन भने सुमन कार्की, सुदिप ढुंगाना, प्रेम पाठक, दिवस थापाले अत्यन्त सर्हानिय काम गर्दै भूमिका निर्बाह गरेका थिए। स्वादिस्ट खानेकुरा भने स्थानीय रमाइलो रेस्टुरेन्टले गरेको थियो।