बोर्ड अफ डिरेक्टरको लागि मेरो उम्मेद्वारी किन? थलराज पन्त
डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि टेक्सासमा बस्दै आएका पन्त इञ्जिनियरिङ्ग कन्स्ट्रक्सन कम्पनी संचालन गर्दै आउनु भएको छ ।
जीवन यापन गर्न गरिने ब्यबसाय वा जागीर बाहेक पन्त बिभिन्न खाले संघ संस्थाहरुमा सेवारत हुनुहुन्छ। एनआरएनए अमेरिकाको गठन संगै आजीवन सदयता लिनु भएका पन्त जनसम्पर्क समिति डालस च्याप्टरको वर्तमान सल्लाहकार र संस्थापक सदस्य समेत हुनुहुन्छ। त्यस्तै डालसका नेपालीहरुको गर्वको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र संस्थापक सदस्य र बोर्ड अफ ट्रस्टिका सदस्य हुनुको साथै मन्दिर निर्माणमा सक्रिय भूमिका खेल्नु भएको छ। डालस क्षेत्रमा सामाजिक क्षेत्रमा राम्रो प्रतिष्ठा स्थापित गर्न सफल अनकन(UNCON) को फ़ाउण्डिङ्ग डिरेक्टर भएर योगदान पुर्याउनु भएका पन्त डालस एभरेस्ट लायन्स क्लबको प्रथम उपाध्यक्ष, ब्लड डोनर्स अफ अमेरिकाको आजीवन सदस्य, डालसका ब्यापारीहरुको साझा संगठन यति च्याम्बर्स अफ कमर्सको कार्यकारी सदस्य समेत रहेर सक्रिय हुनुहुन्छ।
अमेरिकामा मात्र होइन समाजसेवा र सामाजिक संलग्नतामा पन्त नेपाल देखि नै सक्रिय हुनुहुन्छ। बाल विकास समाज काठमाडौँ, लायन्स क्लब अफ नारायणघाट दियालो, राष्ट्रिय युवा परिषद काठमाडौँ, भुकम्प द्वारा ध्वस्त स्कुल र कलेजहरुको पुनर्निर्माण परियोजना, नेपालका बिभिन्न भागमा स्वास्थ्य शिविर संचालन लगायत थुप्रै सामाजिक कार्यहरु गरेर नेपाली समाजलाई गुन समेत लगाउनु भएको छ।
तपाईंलाइ स्थानीय रुपमा यति सक्रिय रहेर काम गरी सक्नु भएको छ, फेरी किन एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टरमा जान लाग्नु भएको भन्ने प्रश्नमा एनआरएनको प्लेटफर्म प्रयोग गरेर अरु बढी गर्न सकिन्छ भनेर नै उम्मेद्वारी दिएको बताउंदै यो कार्यमा मतदाताहरुले सहयोग गर्नेमा आफु ढुक्क रहेको समेत पन्तले स्पस्ट पार्नु भएको छ।