युएनएको दोश्रो सम्मेलन उद्घाटन समारोह सम्पन्न
May 28, 2017 | 4:53 am    
मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आज यहाँ उद्घाटन गरिएको छ । डालस नजिकैको शहर कोपेल स्थित होटेल फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बिभिन्न बक्ताहरुले उत्प्रेरक मन्तब्य दिनु भएको थियो । ११ बजे शुरु हुने भनिए पनि अलि ढिला शुरु भएको उक्त कार्यक्रममा डालस वरपर र अमेरिकाका बिभिन्न शहरका नेपालीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन युवा बिद्यार्थी रोधन पोख्रेल र श्रद्धा श्रेष्ठले कुसलतापुर्बक गरेका थिए भने मुख्य संयोजक बिएन पन्तले सहभागी, कलाकार र अन्यलाई परेको समस्याको लागि क्षमा याचना गर्नुको साथै आफ्नो अमुल्य समय प्रदान गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो ।
उक्त अबसरमा युनाइटेड नेपालीज एसोसिएसनका अध्यक्ष पासांग लामाले युवा नै हरेक समुदाय र राष्ट्रको भबिस्य रहेको उल्लेख गर्दै युवाहरुको वृद्धिबिकासमा लगानी गर्न हात कमाउन नहुने धारणा व्यक्त गर्नु भएको थियो । त्यस्तै अर्भिंग सिटिका मेयर रिक स्टपरले ६ देखि १० बर्षको बिचमा अर्भिंगमा नेपालीहरुको उपस्थिति अत्यन्त बाक्लो भएको धारणा व्यक्त गर्दै नेपाली समुदाय इमान्दार, परिश्रमी, शान्तिप्रिय भएको आफुले पाएको बताउनु भएको थियो । त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले युएनएको एउटा पाटोको रुपमा प्रस्तुत हुन पाउँदा गौरब लागेको बताउंदै युनाइटेड नाम नै काफी भएकोले ब्यबहारमा पनि अमेरिकाको नेपाली समाज एकताबद्ध हुनु पर्नेमा जोड दिनु भएको थियो । डालस समाज एकताबद्ध हुने हो भने दशौँ हजार नेपाली भएको ठाउँमा हुने जुनसुकै कार्यक्रममा पनि उपस्थितिको खडेरी नपर्ने विश्लेषण गर्दै यो सम्मेलनले एकताको संदेश दिंदै आगामी दिनमा डालसका नेपाली युवाहरु अझ सक्रिय रुपमा अघि बढ्ने आशा समेत व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा मिस नेपाल इन्टरनेसनल २०१४ सोनी राजभण्डारीले आफ्नो सारगर्वित र उत्प्रेरक मन्तब्य व्यक्त गर्नु भएको थियो । आफ्नो बाल्यकाल, सुन्दरी प्रतियोगितामा भाग लिंदाको अनुभव र ती सारको निचोडको रुपमा आफु यहाँ उपस्थित भएको उल्लेख गर्नु भएको थियो । पोखरा जस्तो ठाउँमा एक मध्यम बर्गीय परिवारमा जन्मेर थुप्रै चुनौती र पहाडहरु छिचोल्दै यहाँ आइपुगेको उहाँले स्पस्ट पार्नु भएको थियो । सकारात्मक सोंच, आफ्नो लक्ष प्रतिको दृढ आत्माबिस्वासनै सफलताको कडी भएको उल्लेख गर्दै राम्रो कामको लागि कसै संग सम्झ्यौता नगर्न समेत नेपाली युबाहरुलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै नेपालका सात वटा हिमाल चढेर बिस्व रेकर्ड राख्न सफल एसी शेर्पाले हामी अमेरिकामा हरेक सुबिधा उपभोग गर्न सफल भए पनि आफ्नो मातृभूमिको ऋण तिर्न भने बाँकी रहेको बताउनु भएको थियो । अहिले पनि कतिपय नेपालीहरु गाडीको चक्का नदेखी मर्नु पर्ने अवस्था रहेको बास्तबिकता उल्लेख गर्दै त्यसैलाइ चिर्न आफुले ७ वटा शिखर चढेको सगर्व व्यक्त गर्नु भएको थियो । त्यस्तै अमेरिकाको राजनीतिमा डेमोक्र्याट पार्टीमा आबद्ध भै चुनाव समेत लडीसक्नु भएका एचबि भण्डारीले नेपाली अब संधै अमेरिकामा गरिव भएर बाँच्न नहुने बताउनु भएको थियो । अमेरिकामा आएका नेपालीहरु मध्य अहिले २३ प्रतिशत अमेरिकी मापदण्ड अनुसार गरिब रहेको उल्लेख गर्दै आफ्नो अधिकार, भेदभाव र असमानताको लागि अमेरिकामा पनि आवाज उठाउनै पर्ने नत्र पछि परिने कुरा व्यक्त गर्नु भएको थियो । नेपाली समाज टेक्सासको तर्फबाट अध्यक्ष कृष्ण लामिछानेले न्यून उपस्थिति प्रति व्यंग्य गर्दै आफुलाई चाहिएको बेलामा मात्र संघ संस्था गुहार्ने तर अघि पछि घरको चुकुल लगाएर निदाउने नेपालीहरुको बानी परिबर्तन नगर्ने हो भने जति नेपाली भए पनि र जुनसुकै संस्थाले आयोजना गरे पनि उपस्थिति न्यून हुने भन्दै असन्तोष व्यक्त गर्नु भएको थियो । उक्त अबसरमा सिकागोस्थित युएस आइटी कर्पोरेसनको तर्फबाट प्रितम कुसियतको पनि उपस्थिति थियो ।
कार्यक्रममा मेयर रिक स्टपर, क्रिकेटर पारस खड्का र नेपाली मोडेल तथा उत्प्रेरक बक्ता सोनी राजभण्डारीलाइ युएनएको तर्फबाट अध्यक्ष पासांग लामा र समाजसेवी गौरी राज जोशीले टोकन अफ लव प्रदान गर्नु भएको थियो । कार्यक्रमको सुरुमा उद्घाटन समारोहका संयोजक प्रमेश श्रेष्ठले पाहुनाहरुको परिचय प्रस्तुत गर्नु भएको थियो भने धिमे नाच, लोक नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरुवात अमेरिकी र नेपाली राष्ट्रिय गीत बाचन गरेर गरिएको थियो ।