नेपाली समाज टेक्सासले अप्रिल ९ मा स्वास्थ्य शिबिर गर्ने
मार्च २३, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले अप्रिल ९ गते शनिबार स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। संस्थाका अध्यक्ष कृष्ण लामिछानेका अनुसार बिहान ९ देखि दिउसो १ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुनेछ। शिविर समाजसेवी तथा डाक्टर संजिव श्रेष्ठको नेतृत्वमा हुनेछ भने डाक्टर झरना श्रेष्ठ, बिष्णु सापकोटा र शर्मिला श्रेष्ठले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुहुनेछ।
नेपाली समाज टेक्सासले लामो समय देखि स्वास्थ्य शिविर चलाउँदै आएको छ र यो त्यसको निरन्तरता हो। नेपाली समुदायमा लक्षित यो कार्यक्रमले स्वास्थ्य बिमा नभएका, अस्थायी रुपमा अमेरिकामा बस्ने, सानोतिनो उपचार र रोग पहिल्याउने कामको पहिलो खुड्किलो हुने गरेको छ। कतिपय नेपालीहरुको स्वास्थ्य बिमा नहुँदा डाक्टरको मुख देख्न नपाएर रोग पालेर बस्नु पर्ने अवस्था अमेरिकामा छ। डाक्टर संजिव श्रेष्ठको यो शिविरले त्यस्ता बिरामीहरुलाई सहयोग गर्छ। त्यस्तै बाबुआमा अमेरिका आए पछि छोटो अबधिको लागि स्वास्थ्य बिमा लिन नसकिने हुँदा छोराछोरीहरुले आफ्नो बाबु आमालाई जचाउन ल्याउन सक्छन। त्यस्तै औषधि सिद्दिएका तर डाक्टरकोमा जानु नपर्ने हरुलाई पनि यो कार्यक्रमले फाइदा हुन्छ। यस्तो पुण्य कामको लागि आयोजक नेपाली समाज टेक्सास र स्वयंसेवी डाक्टर एबम नर्सहरुलाइ हृदय देखि नै धन्यवाद दिनु पर्छ।
शिविरमा सके सम्म भिन्न भिन्न खालको बिशेषज्ञ डाक्टरहरु पालै पालो आउने गर्नु हुन्छ। कहिले मुटु, कहिले छाला, कहिले हड्डी भने यसपटक दांतको डाक्टर शर्मिला श्रेष्ठ शिविर आउंदै हुनुहुन्छ। नियमित जांच, सामान्य जांच त हुन्छ नै यसपाला तपाईंले आफ्ना बंगारा पनि जचाउन सक्नु हुन्छ। गम्भीर खालको दांतको समस्या छ भने त यहाँ उपचार गरिन्न तर तपाईंको दांतमा रहेको समस्या पहिल्याउने र आबस्यक उपचारको लागि सुझाव दिने काम भने यो शिविरमा गरिनेछ। त्यसैले यी र यस्तै कुनै स्वास्थ्य समस्याबाट तपाईं पिडित हुनुहुन्छ भने आफ्नो समय मिलाउनुहोस। अर्थात् आगामी अप्रिल ९ गते शनिवार यो शिविर नेपाली मन्दिरमा संचालन हुँदैछ।