कल्याणकारी कोषमा अष्ट्रेलियामा रहेका गायक शैलेश शर्मा द्धारा ५५ हजार ५५५ रुपैया सहयोग
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अष्ट्रेलियामा रहेका इन्जिनियर एबं गायक शैलेश शर्माले ५५ हजार ५५५ रुपैया सहयोग गर्नु भएको छ ।
शार्माले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । छोटो समयका लागि नेपाल आउनु भएका गायक शर्माले आफै उपस्थित भएर रकम हस्तान्तरण गर्ने तयारी गर्नु भएको थियो । शर्माको ब्यस्तताका कारण भोलीनै अष्ट्रेलिया फर्कनुपर्ने भएपछि संगीतकार संघका कोषाध्यक्ष हरि लम्साललाई हस्तान्तरणको ब्यबस्था मिलाउने जिम्मा दिनु भएको थियो । गायक शर्माले गरेको सहयोग एक कार्यक्रमका बीच चर्चित गायक राजेश पायल राईले कोषलाई हस्तान्तरण गर्नु भएको हो । पेशाले इन्जिनियर एबं अष्ट्रेलियाका नामी समाजसेबी गायक शैलेश शर्माले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा संगीतकार संघका उपाध्यक्ष शान्तिराम राई, कानुनी सल्लाहकार राम भटटराई प्रस्तोता समाजका अर्जुन भटटराई लगाएतको उपस्थिति थियो ।संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।