कल्याणकारी कोषमा गायक तुला पर्वतको ५० हजार सहयोग
संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा संगीतकार तुला पर्वतले ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । मकाउका बस्दै आएका गायक तथा संगीतकार पर्वत पठाएको रकम धर्मपत्नी पार्वती कुँवर, छोरी श्रीषा कुँवर र छोराको हातबाट संगीतकार संघलाई हस्तान्तरण गरिएको हो । अनामनगरस्थित विनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुृमन बैरागीको हातमा हस्तान्तर गरिएको थियो ।
म्यूजिक संसार प्रालिको आयोजना तथा संगीत कला पत्रकार संघको संयोजनमा भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रीषा कुँवरले हल्का हल्का बोलको गीत गाएर सुनाएकी थिइन् । उनको गीतसँगै सुरु भएको उक्त कार्यक्रममा रकम हस्तान्तरण पछि बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले तुला पर्वतको कार्यको प्रशंसा गर्दै संगीतकर्मीको हक हितका लागि गरिएको यो महान कार्य सबैले हातेमालो गर्दै कोष बृद्धिमा लाग्नुपर्ने बताउनु भयो । अधिकारीले गायिका श्रीषाको स्वरको प्रशंसा गर्दै राम्रो स्वरका कारण स्थापित हुने लक्षण रहेको बताउनु भएको थियो । गायक तथा संगीतकार तुला पर्वतले विदेशी भूमिमा रहेर कमाएको पसिनाको मूल्यलाई संगीतकार कल्याणकारी कोषमा दिएर महान् कार्य गर्नुभएकोमा आभार प्रकट गर्नु भएको थियो । त्यसैगरी संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले कार्यक्रमलाई सम्बोधन गर्दै तुला पर्वतको अतुलनीय कार्यले आगामी दिनमा कसैले पनि अकालको मृत्यु रोज्न बाध्य हुनु नपर्ने बताउनु भयो । शेषले तुला पर्वतले गरेको महान कार्यमा उहाँको परिवार नै लागेको हुँदा यो मनकारी परिवारप्रति सबैले सद्भाव व्यक्त गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा संगीत कला पत्रकार संघसँग मिलेर कल्याण्कारी कोष निर्माणलगायतका संगीतकारका कामहरु अगाडि बढाउने बताउँदै शेषले कल्याणकारी कोषमा सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।
संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले गायक तथा संगीतकार तुला पर्वतले गरेको पुण्य कार्यमा आभार प्रकट गर्दै विदेशमा गएर धेरैले कमाउँछन् स्वदेशमा आएर ऐश आराम र माटोमा लगानी गर्छन् तर तुला पर्वतले सम्पूर्ण संगीतकर्मीहरुको बचाउको लागि गरिएको महान् कार्यमा लगानी गर्नुभएकोमा मुरी मुरी धन्यवाद दिनुपर्ने बताउनु भयो ।
संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । विवरण पहिलो विबरणमा कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । कोषमा ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार,गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२, हेटौडा बसामडी घर भै हाल अमेरिका बस्ने गीतकार नारायण गौतमले २० हजार समाजसेवी प्रीति नेपालले १५ हजार चर्चित गायक रामजी खाँणले १५ हजार, इजरायल बस्ने अनिता योञ्जनले १० हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।