नेपाली उत्पादनलाई अमेरिकामा सहुलियतपूर्ण बजारको पहुँच उपलब्ध गराउनु महत्वपूर्ण’
उद्योगमन्त्री नवीन्द्रराज जोशीले अमेरिकासँगको आर्थिक सम्बन्ध अझ सुदृढ तुल्याउनुपर्ने बताउनुभएको छ ।
नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घको २१ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय र स्थानीय स्रोेतलाई परिचालन गरी आर्थिक विकासको बाटामा अघि बढ्नाको विकल्प छैन भन्नुभयो ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपाल सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नेपालको अर्थतन्त्र उकास्न अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै अमेरिकी राष्ट्रपतिले नेपाली उत्पादनलाई अमेरिकामा सहुलियतपूर्ण बजारको पहुँच उपलब्ध गराउनेसम्बन्धी निर्णय गर्नु नेपाल अमेरिका सम्बन्धको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
सङ्घका सभापति नरेन्द्र बस्न्यातले नेपालको आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय हातेमालो गर्दै अघि बढ्नपर्ने बताउनुभयो । सङ्घको आजै सम्पन्न साधारणसभाले किरण साखःको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । रासस