कार्यवाहक प्रमुख आयुक्त बस्न्यातद्वारा कर्मचारीलाई निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगका कर्मचारीलाई निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव पेस भएपछिको परिवर्तित सन्दर्भमा आयोगका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले कर्मचारीले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभयो ।
आयोग नेतृत्वविरुद्धको महाअभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताउँदै उहाँले आयोग जीवन्त संस्था भएको हुँदा निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने स्पष्ट पार्नुभयो ।