डलरको अभर पर्यटक आगमनमा कमी र अवैध कारोबारका कारण अमेरिकी डलर अभाव- सुरेशराज न्यौपाने

 

पुल्चोकस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाका कर्मचारीलाई ‘अमेरिकी डलर पाइन्छ ?’ भनी प्रश्न गर्दा हात जोड्दै जवाफ दिए, “अरू जेसुकै कुरा भन्नूस्, डलर नमाग्नुस् । यही कारणले आफन्तहरूसँग बोलचाल नै बन्द हुन थालिसक्यो ।”
तीन महिनायता नेपालको वित्तीय क्षेत्रमा विद्यमान डलर संकट जान्न माथिको जवाफ नै पर्याप्त छ । विदेश जानेहरू डलर संकट बेहोर्न बाध्य छन् । विदेश जाँदा पाउँदै आएको प्रतिव्यक्ति २ हजार ५ सय डलरको सुविधालाई ५ सय डलरमा झारिएको छ । राष्ट्र बैंकले बाँकी दुई हजार डलर बराबरको कार्ड दिन सबै वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

स्वदेशी र विदेशी मुद्रा व्यवस्थापन गर्ने जिम्मा पाएको राष्ट्र बैंकले भदौ तेस्रो सातासम्म पनि डलर अभावका बारेमा प्रस्ट मार्गचित्र सार्वजनिक गरेको छैन । बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंक र निजी बैंक दुवैले डलर ल्याउने सम्बन्धमा अनौपचारिक छलफल गरिरहे पनि टुंगो भने लागेको छैन । भन्छन्, “डलर ल्याउने मोडालिटी निक्र्योल भइसकेको छैन ।” नेपाल सरकारले भुक्तानी गर्ने डलर राष्ट्र बैंकले ल्याउने र सर्वसाधारणका लागि चाहिने डलर निजी बैंकले ल्याउने ढुंगाना बताउँछन् ।

सिंगापुर, हङकङका बैंकमा मुद्दती खातामा राखिएको विदेशी मुद्रा र अमेरिकी ऋणपत्र राष्ट्र बैंंकको नगद डलरका स्रोत हुन् । मुद्दती खाता परिपक्व नभएसम्म रकम झिक्न मिल्दैन । तत्काल डलर ल्याउने भनेको ऋणपत्र बिक्री गरेर मात्र हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी भन्छन्, “बाहिरबाट डलर ल्याउँदा विभिन्न खर्च जोडिन्छ । त्यो कसरी रिकभर गर्ने भन्ने छलफल चलिरहेको छ ।”

राष्ट्र बैंकले निजी बैंकहरूलाई डलर ल्याउन स्वीकृति दिए पनि भन्सारलगायतका निकायबाट प्रक्रियागत स्वीकृति लिनुपर्ने हुन्छ । राष्ट्र बैंक नजिकिँदो पर्यटकीय मौसमले डलरको प्रवाह बढाउने र अवस्था क्रमश: सहज बन्दै जाने आशामा तत्काल डलर ल्याउने भन्दा पनि पर्ख र हेरको स्थिति छ ।
डलर अभाव हुनुमा धेरै कारण छन् । गत वर्षको भूकम्प र लगत्तैको नाकाबन्दीका कारण पश्चिमा पर्यटकहरूको संख्या घट्यो । सीमित संख्यामा आइरहेका पर्यटकले कार्डको प्रयोग गर्न थालेका कारण डलरको अभाव देखिएको छ । अमेरिकी डलरलगायतका विदेशी मुद्राको स्रोत पर्यटक, होटल, मनि चेन्जरहरू नै हुन् ।

सन् २०१५ मा हवाईमार्गबाट आउने पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत कम थियो । उक्त वर्ष हवाई मार्गबाट ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटक नेपाल आएका थिए । यसमध्ये भारतीय पर्यटक ७५ हजार १ सय २४ जना थिए । डलरको स्रोत मानिने भारतबाहेकका मुलुकबाट पर्यटक कम आए । यसले पनि डलरको अभाव हुन पुग्यो । रोजगार, अध्ययन र उपचारका लागि विदेशिने नेपालीको संख्यामा कुनै कमी आएन । गत वर्ष नेपालबाट ४ लाख १८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारमा गए । त्यसबाहेक डलर सुविधा लिएर अध्ययनका लागि ३० हजारभन्दा बढी बिदेसिए । स्वास्थ्य उपचारका लागि विदेशिनेको संख्या यकिन नभए पनि बसेर् नि बढ्दो छ । पर्यटन क्षेत्रबाट भित्रिने डलर घट्दै जाने अनि बाहिरिनेहरूले डेबिट र क्रेडिट कार्डको साटो नगदलाई नै प्राथमिकता दिने हुँदा डलरको आपूर्ति र मागबीच असन्तुलित बन्न पुग्यो । यही असन्तुलनले वित्तीय क्षेत्रमा नगद डलरको अभाव सिर्जना हुँदा गैरकानुनी कारोबार गर्नेहरूका लागि वैदेशिक रोजगारको क्षेत्र खुदो साबित भएको छ ।

गएको असारमा त्रिभुवन विमानस्थलमा कार्यरत दुई कर्मचारी अवैध डलरसहित विमानस्थलको शौचालयबाट प्रक्राउ परे । कामदारले विदेश जाँदा अध्यागमनमा देखाउनुपर्ने अमेरिकी डलर अध्यागमन कटेपछि संकलन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । हवाईमार्गबाट बाहिरिँदा अध्यागमनमा देखाउनुपर्ने अमेरिकी डलरको मात्रा पाँच सयबाट बढाएर एक हजार बनाएपछि वैदेशिक रोजगारमा जानेलाई म्यानपावर एजेन्ट आफैँले पैसा दिने र विमानस्थलको प्रयोजन सकिएपछि फिर्ता लिने गरेको पाइयो । प्रहरी अनुसन्धानमा यसरी रकम संकलन गरी एजेन्टलाई दिएबापत एक हजार अमेरिकी डलर बराबर चार सय रुपियाँ दिने गरेको खुलेको थियो ।

भन्सार छली र न्यून बिजकीकरण अवस्था त झन् भयावह छ । यसले अनौपचारिक अर्थतन्त्रलाई मलजल गर्दै लगेको छ । पुँजी पलायन गराउन चीनसँगको व्यापारलाई माध्यम बनाउने गरिएको छ । चीनबाट आयात गरिने वस्तुहरूको भन्सार मूल्यांकन कम गरेर वास्तविक रकमको भुक्तानी भने हुन्डी, नगद तथा सुनबाट हुने गरेको छ । तस्करी कतिसम्म बढेको छ भने गएको दुई वर्षमा त्रिभुवन विमास्नथलबाट नेपाल प्रहरीले ३३ किलो सुन बरामद गर्‍यो ।

व्यवसायीहरूका अनुसार दैनिक १४ किलोका दरले नेपाली बजारमा सुन खपत हुने गरेको अनुमान छ । तर, उदेकलाग्दो के भने भदौको पहिलो सातासम्म वाणिज्य बैंकहरूमा करिब चार सय किलो सुन थन्किएको थियो । तर, नेपाली सुन बजारमा भने रौनक कायमै थियो । जसले गर्दा बजारमा डलरको भाउ अनौपचारिक बजारमा क्रमश: उकालो लाग्दो छ । भदौको तेस्रो साता औपचारिक बजारमा अमेरिकी डलरको बिक्रीदर १ सय ७ रुपियाँ रहेकामा अनौपचारिक बजारमा भने १ सय ११ रुपियाँ चलेको थियो । सरकारी दर र बजारको दरबीचको यो अन्तरले पनि वित्तीय क्षेत्रमा जानुपर्ने डलर बाटैबाट हरण हुने गरेको छ ।

भन्सारमा हुने न्यून बिजकीकरणले पनि डलर र सुनको अवैध कारोबारलाई मलजल गर्दै आएको छ । भन्सार छल्नका लागि सामानको न्यून मूल्यांकन गर्ने र वास्तविक रकम हुन्डी र नगदबाट भुक्तानी हुने गरेको छ । त्यही भुक्तानी लिन चिनियाँ व्यापारीहरू काठमाडौँमा आउने गरेका छन् । त्यस्तो भुक्तानी प्राय:जसो डलरमै हुने गरेको छ । डलरसहित चिनियाँ व्यापारीहरू पक्राउ परेका कतिपय घटनाले पनि यसलाई पुष्टि गर्छ ।

पछिल्लो समय अनौपचारिक च्यानलबाट भइरहेको सुनको आयातमा पनि नगद डलरको भुक्तानी हुने गरेको छ । प्रहरीले ठमेललगायत क्षेत्रका मनी चेन्जरमा छापा मार्दा हुन्डीको कारोबार र स्रोत नखुलेका विदेशी मुद्रा बरामद हुनुले पनि अनौपचारिक कारोबार पुष्टि गर्छ । हुन्डी र न्यून बिजकीकरण कायम रहेसम्म वित्तीय क्षेत्र यस किसिमको अस्थिरताबाट गुज्रिरहने नेपाल राष्ट्र बैंकका पूर्व कामुगर्भनर कृष्णबहादुर मानन्धरको दाबी छ । भन्सार बिन्दुमा निगरानी बढाएर न्यून बिजकीकरणको जालो कमजोर बनाए मात्र यस किसिमको अनिश्चय दोहोरिँदैन । मानन्धर भन्छन्, “जति ठूलो कुरा गरे पनि न्यून बिजकीकरणमा धावा नबोल्ने हो भने घरका सबै ढोकामा बलियो चुकुल लगाउने तर, एउटा झ्याल खुला छाडेर सुतेको जस्तै हो । कुनै सुरक्षा हुँदैन । त्यसैले झ्याल पनि बन्द गर्नुपर्छ ।”

अमेरिकी थिंक ट्यांक संस्था ग्लोबल फिनान्सिअल इन्टिग्रिटीको अध्ययनले सन् २००० देखि २०१० बीचमा नेपालबाट वार्षिक औसत ८० करोडका दरले आठ अर्ब डलर बराबरको पुँजी पलायन भएको जनाएको थियो । पुँजी पलायन हुने १ सय ४३ मुलुकमध्ये नेपाल ५८औँ स्थानमा थियो । एक दशकमा भएको पुँजी पलायनको ८० प्रतिशत वैदेशिक व्यापारमा गरिने न्यून बिजकीकरणको माध्यम थियो । र, यो बढ्ने क्रममा रहेको भनी सरकारी अधिकारीसमेत स्वीकार्छन् ।

यसकारण पनि नगद डलर अभावको पछिल्लो अवस्था ‘कुखुरा हरायो भन्दा पनि स्याल पल्कियो’ जस्तो भएको छ । उनीहरूका भनाइमा माग र आपूर्तिबीचको खाडलका कारण नगद डलरको अभाव हुनु सामान्य हो तर डलर, हुन्डी र तस्करीको फैलिँदो सञ्जालका कारण थप चर्किएको हो । विदेशी मुद्राको जालो यही हिसाबले फैलिँदै जाने हो भने पर्यटक बढेर डलर प्रवाह बढे पनि अभाव कायम रहने सम्भावना छ ।

नेपालीहरूमा रहेको नगद नोटप्रतिको आशक्तिले पनि यस किसिमको अभाव सिर्जना गरेको हुन सक्छ । यसको प्रत्यक्ष फाइदा अवैध कारोबारीलाई हुने गरेको छ । बैंक तथा वित्तीय संस्थामा १ करोड ६८ लाखभन्दा बढी खाता खुलिसक्दा ४६ लाख मात्र डेबिट कार्ड जारी भएका छन् । हालसम्म ५२ हजार १४ वटा क्रेडिट कार्ड र ८२ हजार ७ सय ९७ प्रिपेड कार्ड जारी भएका छन् ।

आव ०७२/७३ मा अघिल्लो वर्षको तुलनामा बैंक खाता ११ प्रतिशतले वृद्धि भएकामा डेबिट कार्डको वृद्धि भने ३ प्रतिशत मात्र भयो । नेपालीहरूको नगद नोटप्रतिको आशक्ति डलरलगायतका विदेशी मुद्राको हकमा पनि देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले विदेश जाने नेपालीलाई ट्राभल कार्डको सुविधा दिए पनि नगदै लिने प्रवृत्ति छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार डलर अभाव हुनुमा राष्ट्र बैंक जिम्मेवार छ । भन्छन्, “यस्तो अभावको आकलन केन्द्रीय बैंकले पहिले नै गरेर त्यसको सम्बोधनका लागि तयारी अवस्थामा बस्नुपथ्र्यो ।” तर, राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी भन्छन्, “आम्दानीभन्दा खर्च बढी भएपछि यो अवस्था आउनु स्वाभाविक हो । पर्यटक घट्नु र डलर आम्दानीको स्रोत पनि कमजोर हुनुमा राष्ट्र बैंक कसरी जिम्मेवार भयो ?”
साभार  नेपाल साप्ताहिक

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907