भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो

                                  04092016035258hra-1000x0प्रा हेमांगराज अधिकारी नेपाल प्रज्ञा–प्रतिष्ठानका भाषा विभाग प्रमुख 

वर्णविन्यास भत्काउन किन लाग्नुभयो ?
भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नियम अनुसार राख्ने सरकारी निर्णय थियो ।

परिमार्जित गर्नुपर्ने कारणचाहिँ के हो ?
नेपाली भाषालाई हामीले ह्रस्वदीर्घमा मात्रै खुम्चायौँ । यसमा रचनात्मक बहस भएन । भाषालाई सजिलो बनाए पो राम्रो हुन्छ । हामी हिज्जेमै डल्लिएर कति बस्ने ? पठनपाठनलाई सिर्जनात्मक बनाउन नियम घोकेर भाषा सिक्नुपर्ने स्थिति हट्नुपर्छ भनेर सरल बनाइएको हो । हजुरबा, बाले त्यसरी पढे, मैले पनि त्यही पढेँ, अब पनि त्यही हुनुपर्छ भन्नु उल्टो गति मात्र हो ।

त्यसो भए यो नयाँ कुरा नै होइन ?
अगाडि र बीचमा ह्रस्व, पछाडिको उकार भए ह्रस्व, ईकार भए दीर्घ लेख्ने नियम त मास्टर गोपाल पाँडे ‘असीम’को ह्रस्व दीर्घ आदिको सवाई (१९९७) को सवाई नं ४६ र पुष्करशमशेर (२००८) को लेखमै भनिसकेको कुरा हो ।

आन्दोलनको तारोमा तपाईं हुनुहुन्छ नि ?
मैले व्यक्तिगत लहडमा यो निर्णय गरेको होइन । यो बिलकुल संस्थागत निर्णय हो । तर, लेखक–प्रकाशकहरूले हामी पुरानियाैँ भन्ने हिसाबले स्यालहुइँया मच्चाएका छन् । उनीहरू अभियन्ता हुन् कि अपयन्ता ? मलाई थाहा छैन ।

मैले ०४९ सालमा पुस्तक लेखेँ, समसामयिक नेपाली व्याकरण । भाषा वैज्ञानिक परिप्रेक्ष्यमा लेखिएको प्रयोगात्मक व्याकरण भएकाले प्रवीणता प्रमाणपत्र तहको अनिवार्य नेपालीको सन्दर्भ सामग्रीमा त्यसलाई मात्र समेटिएकाले साथीहरू रिसाए । सायद  अहिलेसम्म त्यसकै धङधङी होला ।

तपाईं संस्थागत निर्णय भन्नुहुन्छ तर विरोध तपाईंको मात्र भइरहेको छ त ?
०६५ को अनिवार्य नेपाली शिक्षण निर्देशिका हामी सात जना मिलेर बनाएका हौँ । व्रतराज आचार्य, देवीप्रसाद गौतम, राजेन्द्र सुवेदी, बद्रीविशाल भट्टराई, जगदीशचन्द्र भण्डारी र मैले । मेरा साथीहरू अपयश आउँछ भनेर अगाडि आइदिएनन् । म यश र अपयशको भागी छु । व्याकरण र कोश लेखेपछि भाषामा अधिकार हुन्छ । काम अलि बढी गरिएछ कि !

त्रिविका प्राडाहरूले नै भाषा बिगारेको आरोप तपाईंमाथि लगाइरहेका छन् नि ?
खगेन्द्र लुइँटेल ०५७ पछि पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिमा रहनुभएन । अनि, विरोध गर्न थाल्नुभयो । देवीप्रसाद गौतमले पहिले ठीक भनेर पठाउनुभयो, पछि नेपाली विभागमा प्रवेश दिन्नँ भन्न थाल्नुभएको छ । उहाँले प्रवेश नदिएर के हुन्छ ? उहाँको एउटा विभाग मात्र छ र त्रिविमा ?

उसो भए अब पुराना किताब र कृति सबै अशुद्ध हुन्छन् ?
हामीले कहिल्यै त्यसो भनेका छैनौँ । तर, मानकीकरणका विकल्पमध्ये एउटा विकल्पलाई प्रोत्साहित गर्नुपर्छ भनेको मात्र हो । कतिपयलाई भय र भ्रम छ । आन्दोलनकारीमा तर्कभन्दा बितन्डा बढी छ । बितन्डा त पाखण्ड हो ।

साथीहरू मलाई मिर्गौलाका व्यापारी र डलरको खेती भनिरहेका छन् । भाषालाई रचनात्मक बहसतिर नलगेर गाईजात्रे प्रदर्शनी गरेका छन् । के अब ह्रस्वदीर्घ आयोग बनाउने ? दीनानाथ शर्मालाई गोजीमा हाल्दैमा सबथोक भइहाल्छ त !

अब मानकीकरण कसरी हुन्छ ? 
हो, शिक्षा र सञ्चार क्षेत्रमा मानकीकरण चाहिन्छ । मानकीकरणका संवाहक भनेकै सम्पादक र शिक्षक हुन् । तर, यहाँ लेखक पनि होइन, साहित्यकारहरूले होहल्ला गरिरहेका छन् । यो स्वत:स्फूर्त रूपमा भएको हो या कसैको उक्साहटमा ? यसमा लेखक–भाषाविद् लाई यस्तो, उस्तो हुनुपर्छ भन्ने अधिकारै छैन । आधुनिकीकरण, मानकीकरण, लिपि छनोट, लिपि सुधार, हिज्जे सुधार विशुद्ध भाषाविज्ञानको क्षेत्र हो ।

तपाईंको निजी कोश बिकाउन यो बबन्डर भएको रे ?
प्रयोगात्मक नेपाली शब्दकोशजस्तो उच्चारणसहितको कोश दक्षिण एसियामै छैन । हिन्दी भाषाभण्डारमा पनि छैन । हामीले डाह हुने काम गरेका रहेछौँ । देवनागरीको चिन्ता नभएको भए मैले त्यो काम किन गर्थें ? संस्कृत त हाम्रो पोषक भाषा हो भने अंग्रेजी मारक भाषा ।

प्रत्येक वर्ष शब्दकोश किन्नुपर्ने अवस्था आयो नि ?
संक्रमणकालमा यस्तै हुन्छ । ०४७, ०६३ सालमा बनाएको संविधान पनि त काम लागेन नि !

संसद्मा कुरा उठिसक्यो । अब समाधान के छ तपाईंसँग ?
थुक त निल्नु हुँदैन भन्छन् । परिमार्जित वर्णविन्यास लागू भएको चार वर्ष भइसक्यो । मैले कुनै आदेश गरेको होइन । आदेश हो भने नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) पनि आदेश नै हो ।

साभार नेपाल साप्ताहिक- राजकुमार बानियाँ

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907