पुनर्निर्माण प्राधिकरण संसदबाटै गठन हुनुपर्ने एमालेको अडान
५ असार, काठमाडौं । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ ।
उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश उनुभन्दा संसद अधिवेशन पर्खिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका लागि सरकारले असार १० गतेको दाता सम्मेलन अघि नै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न खोजेको छ । तर, एमाले र एमाओवादी त्यसको विपक्षमा छन् ।
संसदबाटै त्यस्तो प्राधिकरण गठन गर्नु उपयुक्त हुने बारेमा पार्टीको बैठकमा छलफल भएको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले अनलाइनखबरलाई बताए । ‘संसदमै छलफलल गरेर कस्तो प्राधिकरण बनाउने भन्ने टुंगो लगाउनु उपयुक्त हुन्छ भन्ने नेताहरुको धारणा आयो’-गुरुङले भने ।
बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले सुझाव दिएका थिए । चार दल बैठकमा पनिक कांग्रेसले दाता सम्मेलन अघिनै प्राधिकरण गठन गर्दा त्यसको प्रभावकारिता हुने अडान राखेको छ भने एमाले र एमाओवादीले संसदमा छलफल हुनुपर्ने बताएका छन् ।
यसका लागि अविलम्ब संसद अधिवेशन आहृवान गरेर संक्षिप्त कार्यविधि अवलम्बन गरी प्राधीकरण लगायतका बिषय टुङ्गो लगाउनु पर्ने बैठकले राय दिएको छ । भूकम्पपछिको पुनर्निर्माण सर्वोच्च प्राथमिकताको राष्ट्रिय एजेण्डा र आम सरोकारको बिषय भएकाले यस बिषयमा सरकारले सबै पक्षसँग छलफल गरी साझा धारणा बनाउनु आवश्यक भएको तर्फ पनि एमाले बैठकले ध्यानाकर्षण गराएको छ ।
पुनरावलोनमा जाउ
यसैबीच एमालेले सर्वोच्च अदालतको पछिल्लो आदेशविरुद्ध न्यायिक पुनरावलोकनमा जान सरकारलाई सुझाव दिएको छ । यसअघि चार दलको बैठकले गरेको निर्णयलाई एमाले बैठकले अनुमोदन गरेको छ ।
एमाले बैठकले सर्बोच्चको पछिल्लो अदोशले संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको विशेषाधिकारलाई कुण्ठित गर्न खोजेको, अस्थिरता एवं अन्यौललाई बढावा दिन खोजेको निष्कर्ष निकालेको सचिवालय सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ-संविधान निर्माणको प्रक्रिया संविधानसभाको क्षेत्राधिकारको बिषय भएकाले यसलाई कसैले चुनौती दिन नसक्ने ठहर गर्दै बैठकले संविधानसभालाई मस्यौदा लेखनको काम पूर्ववत् र अझ तीव्र रफ्तारमा अगाडि बढाउन तथा द्रूत प्रक्रियाबाट संविधान जारी गर्ने दिशामा अगाडि बढ्न बैठकले आग्रह गरेको छ ।’
Source : onlinekhabar.com