ब्रेट क्याभना सर्बोच्च अदालतको न्यायाधिषमा नियुक्त
वासिंगटन डिसी, अमेरिका । करिव दुइ महिनाको रस्साकस्सी पछि अन्ततः ब्रेट क्याभना अमेरिकाको सर्बोच्च अदालतको न्यायाधीषमा नियुक्त भएका छन् । अक्टोबर ६ सनिबार अपरान्ह भएको मतदानमा ४८ का बिरुद्ध ५० मतले उनी न्यायाधिष नियुक्त भएका छन् । अघिल्लो हप्ता नै नियुक्त हुने पक्का भएका क्याभना एफबिआइको एक हप्ते पृष्ठभूमि जांच पछि अन्तत: अमेरिकाको न्याय क्षेत्रको सर्बाधिक शक्तिशाली पदमा बहाल भएका छन् ।
यो करिब दुइ महिना क्याभना अमेरिकी राजनीतिको केन्द्रमा रहे । उनीमाथि ३ जना भन्दा बढी महिलाहरुले यौन हिंसा गरेको आरोप लगाए । सिनेटले एक जना क्रिस्टिन फोर्डसंग मात्र कुरा गर्यो तर उनको कुरा रिपब्लिकनहरुले विश्वास गरेनन । करिव ३५ बर्ष अघि भएको भनिएको उक्त काण्डले क्याभानको न्यायाधिष हुने यात्रालाई रोक्न सकेन ।
यो समग्र प्रक्रियामा अमेरिका स्पस्ट दुइ भागमा विभाजित भयो । क्याभनाको नियुक्ति रोक्न र उनलाई नियुक्त गर्न दुवै पक्षबाट सबै प्रयत्नहरु गरिए । सिनेटका नियमहरु मिचिए । दक्षिणपन्थीहरुको चाहना सर्बोच्च अदालतमा आफ्ना मान्छे राखेर लिबरल बन्दै गएको अमेरिकी समाजलाई पछि धकेल्ने थियो । क्याभनाको नियुक्तिले धेरै सामाजिक मुद्धाहरुमा महिला, अल्पसंख्यक र धार्मिक समुदायमाथिको दक्षिणपन्थी धारलाई मलजल गर्नेछ । यो दिन उनीहरुको बिजयको दिन हो ।
पार्टी लाइन अनुसार ब्रेट क्याभना नियुक्त भए पनि दुइ जना सिनेटरहरुले भने आफ्नो पार्टी बिपरित भोट हालेका छन् । पश्चिम भर्जिनियामा डेमोक्र्याटको तर्फबाट प्रतिनिधित्व गरेका जो म्यांचिनले डेमोक्र्याट पार्टीको लाइन बिपरित ब्रेट क्याभनाको पक्षमा भोट हाले भने अलास्काकि रिपब्लिकन सिनेटर लिसा मुर्काउस्कीले “उपस्थित” जनाइन । जो म्यान्चिन आगामी नोभेम्बरमा पुन निर्बाचनको मैदानमा छन् र पश्चिम भर्जिनिया रिपब्लिकनहरुको पकडमा रहेको राज्य मानिन्छ ।
ब्रेट क्याभना नियक्ति त भए तर अमेरिका झन् विभाजित बनेको छ । आउँदो नोभेम्बरमा हुने निर्बाचनको ब्यग्र प्रतिक्षा शुरु भएको छ । २ बर्ष नबित्दै २ वटा सर्बोच्च अदालतका न्यायाधिष नियुक्तिले रिपब्लिकनहरुलाई उत्साहित बनाएको छ भने ट्रंप र वर्तमान रिपब्लिकनहरुले महिला, अल्पसंख्यक लगायत अरुलाई गरेको नजर अन्दाजको कारण डेमोक्र्याटहरुमा पनि निकै आक्रोश देखिन्छ । यसले आगामी निर्बाचन झन् महत्वपुर्ण हुने देखिएको छ ।