अर्जेन्टिना र आइसल्याण्ड बराबरीमा: मेस्सीले पेनाल्टी मिस गरे
बिस्वकप २०१८ रसियामा जारी छ। संसारभरबाट छानिएर आएका ३२ देशका खेलाडीहरु यो महासंग्राममा भिडन्त गर्दैछन। खेलाडीहरु त खेलेर भिड्ने नै भए, उनीहरुका फ्यानहरु सामाजिक संजालमा तर्क, बितर्क, कुतर्क, झटारो, दुखेसो गर्दै फुटबल प्रति बिस्वभारिका मानिसहरुमा रहेको प्रेम झल्काईरहेका छन्।
पक्कै पनि आफुले समर्थन गरेको टीम हार्दा दुखी हुने र जित्दा सुखी हुनु सामान्य कुरा नै हो। यसै बीच आज अर्जेन्टिना र आइसल्याण्ड बिचको खेलले धेरैको ध्यान तान्यो। एकातिर बिस्वकपको दावेदार अर्जेन्टिना र अर्को तिर जम्मा सवा तीन लाख जनसंख्या भएको र खासै चर्चा नभएको देश आइसल्याण्ड बिचको खेल रोमान्चक रह्यो। अधिकांश नेपालीहरुको समर्थन अर्जेन्टिना तर्फ नै थियो भने आइसल्याण्डको समर्थनमा भने अर्जेन्टिना विरोधीहरु थिए अर्थात् आइसल्याण्डलाइ समर्थन गर्ने नेपालीहरु मेस्सीका विरोधीहरु मात्र थिए।
खेलमा जित र हार एक सिक्काका दुइटा पाटा हुन्। एउटाले जित्छ र अर्कोले हार्छ। जित्न खेलाडी राम्रो त हुनै पर्छ तर खेलाडी राम्रो भएर मात्र पनि जित्नको लागि काफी हुँदैन। कहिलेकाँही संयोग पनि राम्रो हुनु पर्छ। आजको खेलमा पनि करिव त्यस्तै हुन पुग्यो। अधिकांश समय अर्जेन्टिनाको पकडमा बल भए पनि करिव साढे ७ मिटर लम्बाई र साढे दुइ मिटर उचाइ भएको गोल पोस्टमा बल भने अर्जेन्टिनाले एक पटक मात्र छिराउन सफल भयो। १९ मिनटमा अर्जेन्टिनाले गोल गरेपछि काउन्टर आक्रमणमा आइसल्याण्डले पनि करिव ४ मिनेट पछि गोल गर्यो।
खेल अबधिभर आइसल्याण्ड प्रतिरक्षात्मक अबस्थामा रह्यो। खेलको दोश्रो भागमा मेस्सीलाइ पेनाल्टी हान्ने अवसर आयो तर उनले त्यसलाई गोलमा परिणत गर्न सकेनन। फ्री किक पनि उनले धेरै पाए तर ती सबै अवसरहरु गुमाए। रोनाल्डोले पाएका यस्ता अवसरहरु सदुपयोग गर्दै एकै खेलमा ३ गोल गरेर इतिहास रचेका थिए भने मेस्सिले पेनाल्टी मिस गरेर आफ्ना अन्धभक्त फ्यानहरुलाई निरास पारे। आखिर ९५ मिनेट सम्मको खेलको समाप्तिसंगै खेल बराबरीमा टुंगियो।
अर्जेन्टिनाले बराबरी बनाए पनि यो अर्जेन्टिनाको हारको रुपमा लिइएको छ। आइसल्याण्ड जस्तो कम्जोर टीमसंग पनि बराबरीमा हार्ने र सजिला अबसरहरु पनि गुमाएको कारण मेस्सी आलोचित बनेका छन्। मेस्सिले कोपा अमेरिकाको फाइनलमा पनि पेनाल्टी मिस गरेर अर्जेन्टिनालाई हराएका थिए।
त्यसो त मेस्सी एक सामान्य मान्छे नै हुन्। उनले संधै गोल हान्छन भन्ने हुँदैन। खालि सम्भावना बढी हुन्छ भन्ने नै हो। प्रतिपक्षि खेलाडीहरुको घेरामा खेल्नु पर्ने हुनाले चर्चित खेलाडीहरु अप्ठेरोमा त त्यसै हुन्छन त्यस माथि “अन्धभक्त” फ्यानहरुको अधिक अपेक्षाको भारीको दवाव पनि उनीहरुले व्यहोर्नु पर्ने हुन्छ। बिभिन्न कारणले उनीहरुले संधै भने जस्तो खेल्न सक्दैनन्। यो खेलाडीहरुको होइन हेरेर गफ दिनेहरुको कमजोरी हो।
खेल पछि सामाजिक संजालमा मेस्सिलाई उडाउनेहरुको ताँती लागेको छ । कसैले उनलाई “मिस पेनाल्टी” भनेर ट्रोल गरिरहेका छन्। किशोर श्रेष्ठले आफ्नो फेसबुकको भित्तामा मेस्सिको पतन शुरु भएको र अब अर्को कदम अवकाश भएको भनेर व्यंग्य गरेका छन्। अर्जेन्टिनाको जित हुन्छ भनेर आस्वस्त हुँदै ब्यग्रतापुर्बक खेल हेरिरहेका बासु अधिकारीले “हे भगवान यहि दिन हेर्न भनेर हो मलाई बचाईराखेको, अब कसरी मुख देखाउनु” भनेर चित्त दुखाएका छन्। यस्ता थुप्रै कुरा अहिले जताततै भेटिन्छ।
जे होस् बिस्वकपको महासंग्राम अब करिव एक महिना चल्नेछ र यो रमाइलो पनि जारी रहनेछ। जो जसको समर्थक भए पनि खेलको मर्यादा, अरुको इज्जत गर्दै खेल हेरेर मनोरंजन गर्नु बान्छनीय देखिन्छ।