गौरी जोशी द्वारा मुद्धा फिर्ता : निर्बाचनको लागि बाटो खुला
अगस्त २२, अमेरिका । आफुलाई अध्यक्ष पदमा उम्मेदवार हुन बन्चित गरिए पछि टेनेसी अदालतमा एनआरएन अमेरिका बिरुद्ध मुद्धा हालेका टेक्सास निवासी आइटी ब्यबसायी तथा समाजसेवी गौरी राज जोशीले मुद्धा फिर्ता लिएका छन् । अदालत नजाने आफ्नो पुरानो अडान अन्तिम आएर परिबर्तन गरेका जोशी आफ्नै टीम भित्रको चर्को दबाव थेग्न नसकी अदालत पुगेका थिए । अहिले फेरी एनआरएनका असल मित्रहरुको चर्को दबाव, निर्बाचनमा भएको अनिश्चितता संगै काउन्टर मुद्धा समेत परेको अबस्थालाई मध्येनजर गर्दै मुद्धा फिर्ता लिएका हुन् । उनको यो निर्णय एनआरएन अमेरिका, नेपाली समाज र उनकै लागि अत्यन्त उत्तम छ, यसमा कुनै शंका छैन ।
गौरी जोशीले आफ्नो उम्मेदवारी सम्बन्धि विवाद उत्कर्षमा पुग्दै गर्दा पटक पटक फेसबुक मार्फत बिज्ञप्ति जारी गरेका थिए । अहिलेको बिज्ञप्ति र त्यो बेलाका बिज्ञप्तिहरु हेर्दा देखिएको भाषिक अन्तरले उनको संगत परिबर्तन समेत भएको अनुमान गर्न सकिन्छ । अत्यन्त क्रान्तिकारीहरुले बोल्ने भाषा प्रयोग गरिएका ती बिज्ञप्ति भन्दा अहिलेको बिज्ञप्ति बढी सौम्य देखिन्छ । यसले त्यति बेलाको बिज्ञप्ति लेख्ने व्यक्ति र अहिलेको व्यक्ति समेत परिवर्तन भएको सजिलै आंकलन गर्न सकिन्छ । जुनसुकै कारणले भए पनि यो कठोर निर्णय लिएर उनले आफ्नो बुद्धिमत्ता प्रदर्शन गरेका छन् । यसबाट उनको पछि हात धोएर लागेका केहि बाहेक एनआरएन अमेरिका र नेपाली समाजको भलो चाहने नेपालीहरु खुशी भएका छन् ।
अब के हुनु पर्छ ?
अब निर्बाचन गर्नु पर्छ । अदालतको प्रारम्भिक निर्देशन, आइसिसिको प्रतिबेदनको भावना अनुरुप गौरी जोशीको उम्मेदवार हुन योग्यता पुगेको भन्ने कुरा स्थापित भैसकेकोले गौरी जोशीलाई उम्मेदवार हुन दिनु अहिलेको आबस्यकता हो । उनको एनआरएनमा योगदान गर्ने उत्कट चाहना रहेको अबस्थामा उनको भबिस्य सुरक्षित गर्दै एनआरएन अमेरिकालाई बलियो बनाउनु अहिलेको आबस्यकता हो । जुनसुकै कारणले मुद्धा फिर्ता लिए पनि उनलाई फेरी भित्तामा पुर्याउने तरिकाले कसैले काम गर्नु हुन्न र उनलाई एनआरएनमा बसेर समाजसेवा गर्ने अवसर प्रदान गर्नु पर्छ भन्ने नै धेरै एनआरएनका शुभचिन्तकहरुको चाहना देखिन्छ । यो मुद्धा फिर्ती संगै एनआरएन अमेरिकाको चुनावको ढोका खुलेको छ र अब तुरुन्त निर्बाचन प्रक्रिया अगाडी बढाउन ढिला गर्नु हुन्न ।
जोशीद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै:
आदारणीय नेपाली समुदाय
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।
यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।
मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।
निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।
अन्त्यमा, यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।
धन्यवाद
गौरी राज जोशी
टेक्सस ड्यालस – अमेरिका