इन्द्रेणी सांस्कृतिक संघको अन्तरक्रियाका केहि टड्कारा पक्षहरु
डालस, फेब्रुअरी ११, शनिबार। इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ एउटा छुट्टै अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो। हाम्रो संस्कार सुधारको कति आबस्यक छ भन्ने बारेमा उक्त अन्तरक्रिया केन्द्रित थियो। नेपालबाट आउनु भएका सेवानिवृत प्राध्यापक धरणी प्रशाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख बक्ता समेत गौतम नै हुनुहुन्थ्यो। इन्द्रेणी सास्कृतिक संघका अध्यक्ष तारा भुषालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम उपाध्यक्ष बेदनिधि दाहालले गर्नुभएको थियो। प्राबिधिक कारणले अलि ढिला शुरु भएको उक्त कार्यक्रममा बक्ताको रुपमा नेपाली मन्दिरका पुजारी एबम लामो समय राजदरबारमा पण्डितको भूमिकामा रहनु भएका डाक्टर शेखर पण्डित र पण्डित रामचन्द्र पाण्डे हुनुहुन्थ्यो।
भनिन्छ संस्कार र संस्कृति मान्छेका पहिचान हुन्। मानब सबै एउटै भए पनि आफ्नो अस्तित्व र पहिचान झल्काउने काम संस्कार र संस्कृतिले गर्छ। बिना संस्कृति मान्छे पहिचान बिहिन हुन जान्छ। हामी नेपाली जाति संस्कृतिका धनि छौं। हाम्रा तिनै मौलिक संस्कृतिको कारण हामी अरु भन्दा भिन्न पनि छौं। हामी त्यसैमा गर्ब गर्छौं र त्यसैमा हामीलाई रमाइलो लाग्छ। त्यसै कारणले होला हामी यस्तो पराइको भूमिमा पनि हाम्रा संस्कार र संस्कृति जोगाउन लागि परेका छौं। हामीलाई हाम्रो भाषा, हाम्रो भेष, हाम्रो धर्म र संस्कृति औधि प्यारो लाग्छ। हाम्रा संस्कारहरु कतिपय विदेशीहरुको लागि अनौठा लाग्न सक्छन। तर हामी त्यहि कारणले फरक छौं। हाम्रा संस्कार हाम्रा निधि हुन् । हाम्रा परिचय हुन्। यसलाई हामी जोगाउनु पर्छ।
आजको कार्यक्रमका प्रमुख अतिथि “संस्कार सुधार समाज” भनिने एक संस्थाका सह-उपाध्यक्ष हुनुहुन्छ। आजको कार्यक्रममा उहाँले अन्य संस्कार छोटकरीमा र मृत्यु सम्बन्धि हाम्रो संस्कारको बारेमा बिशेष चर्चा गर्नु भयो। १३ दिन सम्म किरिया बस्ने प्रचलन हाम्रो हिन्दु धर्म संस्कृतिमा छ। अझ भनौं हाम्रा बाजे पुर्खाले आफ्नो मातापिताको मृत्यु पछि १२ दिनसम्म विभिन्न प्रक्रिया गर्ने र १३ औं दिनमा उम्किने चलन चलिआएको छ। तर उहाँले संस्कार सुधार समाज,नेपालद्वारा प्रकाशित “५ दिने अन्त्य पद्दति” नामक पुस्तक र आफु संग रहेको सामग्री मार्फत १२ दिनको सट्टा ५ दिनको बिकल्प प्रस्तुत गर्नु भयो। उहाँको प्रस्तुत गर्ने तरिका संगै सामग्री समेत फितलो रह्यो। जुन अपेक्षा साथ इन्द्रेणीले उक्त अन्तरक्रिया आयोजना गरेको थियो र मानिसहरु सहभागी थिए, त्यसमा कमि भएको सबैले महसुस गरे।
हामी जति हाम्रा संस्कार र संस्कृति प्रति गर्ब गर्छौं, त्यति नै हाम्रा संस्कारमा रहेका बिकृति हटाउन जरुरी छ भन्ने धेरै मान्छेको धारणा पाइन्छ। खासगरी धर्म र संस्कृतिको एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको अबस्थामा हाम्रा संकीर्ण र रुढिबादी संस्कृतिको कारण हाम्रो धर्म माथि नै विश्वास कम हुने खतरा रहेको हुन्छ। यसमा हामी बिशेष गरेर हिन्दु धर्ममा आस्था हुनेहरु धेरै जिम्मेवार हुन जरुरी छ। कतिपय हाम्रा रुढिबादी संस्कार युवा पुस्ताले अंगिकार गर्न अप्ठेरो मान्दा कालान्तरमा हाम्रो धर्म प्रति नै विकर्षण हुन सक्छ भन्नेमा सबै जना सचेत हुनु पर्छ। तर संस्कार र संस्कृतिलाइ समय सापेक्ष बनाउने नाममा हाम्रो अस्तित्व नै समाप्त गर्ने कालिदास प्रवृति देखि पनि सचेत हुन उत्तिकै जरुरी छ। समय सापेक्ष हुने आँट हामीले गर्ने पर्छ तर त्यसले हाम्रो धर्म र संस्कृतिको धज्जी उडाउनु हुँदैन। हाम्रो अस्तित्व र पहिचान खत्तम गर्ने खालको हुनु हुन्न।
हुन त संस्कार सुधार समाजले हामी सम्पूर्ण नेपाली हिन्दुहरुको प्रतिनिधित्त्व गर्दैन। त्यो केहि व्यक्तिहरुको सोंचबाट संचालित संस्था हो। यसले हाम्रो संस्कार बिशेष गरी मृत्यु पश्चात गरिने संस्कारमा परिबर्तन गर्ने एजेन्डा अघि सारेको छ। नेपालमा पनि यसबारेमा थुप्रै कुराहरु भए तर नेपाली समाजबाट यो विचार अस्वीकृत भैसकेको छ। तैपनि अहिलेको ब्यस्त समयमा १२ दिन कठोर अनुशासनमा बस्न गाह्रो हुन्छ, त्यसैले शास्त्र सम्मत हुन्छ भने १२ दिन भन्दा कम गर्न मिल्छ कि भन्ने कतिपयको धारणा पनि रहेको पाइन्छ। त्यहि अनुसार के के बिकल्प हुनसक्छन भन्ने बिशुद्ध हेतुले यो कार्यक्रम आयोजना गरिएको थियो। तर प्रमुख अतिथि र सहभागी अन्य बक्ताहरुले यो संस्कारलाइ झन् जटिल मात्र बनाएनन हाम्रो संस्कार नै अनाबस्यक छैन भन्ने अतिबादी सोंचलाई मलजल गर्ने खालको आसय उनीहरुले प्रस्तुत गरे।
५ दिन, ७ दिन, ३ दिन, ९ दिन वा १० दिन जति दिन गरे पनि हुन्छ भन्ने हाँस्यास्पद तर्क प्रमुख अतिथिको रह्यो। शास्त्र सम्मत कति दिन गर्न मिल्छ भन्ने शास्त्रीय आधारहरु प्रस्तुत गर्नुको सट्टा क्रियाकर्म नगरे पनि हुन्छ भन्ने खालको अभिव्यक्ति उहाँको रह्यो। शास्त्रीय आधार, सामाजिक आधार र व्यक्तिगत आधारको मुल्यांकन गर्दै हाम्रो संस्कारलाइ पुस्टि गर्नु पर्नेमा जे गरे पनि हुन्छ भन्ने खालको अभिव्यक्ति श्री गौतमको रह्यो जुन हाम्रो संस्कारको पूर्ण बिरोधि कुरा हो। फलस्वरूप सहभागीहरुले संस्कार सुधार समाज हो या “संस्कार बिगार समाज” हो भनेर प्रश्न समेत गरेका थिए जसमा प्रमुख अतिथिले चित्तबुझ्दो जवाफ दिन सक्नु भएन। क्रिया नगरे पनि हुन्छ त भन्ने प्रश्नको जवाफमा समाजको डरले मात्र गर्नु परेको र मन नलागे नगरे पनि हुन्छ भन्ने जस्तो गैरजिम्मेवार र हचुवा जवाफ दिनुभएको थियो। समाज र संस्कारको रुपान्तरण सदियौं देखि आफ्नै तरिकाले हुँदै आएको छ । हाम्रा समय सापेक्ष नहुने खालका संस्कार छन् भने पक्कै पनि समय क्रम संगै हट्दै जानेछन तर सुधारको नाममा शास्त्रसम्मत बिकल्प प्रस्तुत नगरी सुधार गर्नकै लागि सुधार गर्नु अबाञ्छनिय देखिन्छ ।
छोराले गरे पनि हुन्छ, छोरीले गरे पनि हुन्छ र गर्दै नगरे पनि फरक पर्दैन भन्ने खालको तर्कले सहभागीहरुलाई असजिलो बनाइदिएको थियो। संस्कार सुधारको नाममा गरिने राजनीति भन्दा आफ्ना बाबु आमाको बिषयमा आफै जे ठिक लाग्छ त्यहि गर्न हरेक व्यक्ति स्वतन्त्र भए पनि कुनै आधार बिना १२ लाइ ५ दिनमा झार्नु पर्छ भन्ने “संसार सुधार समाज” भनिने “संस्कार बिगार समाज” जस्ता संस्थाहरुको आबस्यकता छ कि छैन भनेर प्रस्न गर्न ढिला गर्नु हुन्न।