अन्तिम संस्कार अध्ययन, सुधार, सुझाव र आबस्यकता बारे इन्द्रेणी सांस्कृतिक संघले अन्तरक्रिया गर्ने
डालस, टेक्सास। इन्द्रेणी सांस्कृतिक संघले फेब्रुअरी ११ बजे अर्थात् आगामी शनिबार एक बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। अमेरिकाको भ्रमणमा रहनुभएका संस्कार सुधार समाज, नेपालका सह-अध्यक्ष र त्रिभुवन बिस्वबिद्यालयका निबृत प्राध्यापक श्री धरणी प्रसाद गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गर्न लागिएको हो। इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा प्रशाद भुसालका अनुसार नेपाली मन्दिर अर्भिंगमा दिउसो १:३० हुन लागेको उक्त अन्तरक्रियामा डालस वरपरका प्रबुद्ध बर्ग र आम सर्बसाधारणको उपस्थितिको अपेक्षा गरिएको छ।
उक्त अवसरमा प्राध्यापक गौतमले हाम्रो हिन्दु धर्म र हिन्दु संस्कारको सास्त्रीय आधारको ब्याख्या गर्नुको साथै ती संस्कारहरुमा समयानुकुल रुपमा गर्न सकिने, गर्न हुने तथा गर्न नसकिने र गर्न नहुने बारे शास्त्रीय आधार सहितको ब्याख्या गर्नु हुनेछ। बदलिँदो परिस्थितिमा हाम्रा संस्कारहरुलाई कसरी समयानुकुल गर्ने र त्यसलाई हाम्रो धर्म र संस्कृतिको भावना समेत जोगाइ राख्ने भन्ने चुनौती देखिएको अबस्थामा त्यसका आधारहरु के के हुन सक्छन भन्ने बिषयमा प्राध्यापक गौतमले प्रकाश पार्नु हुनेछ भने त्यस सम्बन्धि जिज्ञाशा भएमा पनि उहाँले स्पस्ट पार्नु हुनेछ।
नेपालमा जन्म, बिबाह र मृत्यु जस्ता धार्मिक संस्कारहरु बिभिन्न धर्म, जाति, क्षेत्र अनुसार फरक छन्। बहुसंख्यक हिन्दु भएको नेपालमा हिन्दु धर्मका संस्कारहरु बढी प्रचलित छन्। जन्म र बिबाहमा खासै चासो नभए पनि मृत्यु संस्कार १३ दिन लामो रहेकोले त्यसलाई समय सापेक्ष रुपमा सुधार गर्दै यसको अबधि घटाउनु पर्छ भन्ने स्वर पनि सुनिन थलिएको छ। कामको व्यस्तता, खर्चको समस्या लगायत अन्य थुप्रै भौतिक चुनौतिहरुको कारण १३ दिनलाई ५ दिन वा ३ दिनमा सिमित गर्नु पर्छ भन्ने कतिपयको धारणा पाइन्छ भने मृत्यु संस्कार जुन १३ दिन छ त्यो जन्मको चक्र संग सम्बन्धित भएकोले घटाउन नमिल्ने तर्क धेरै विद्वानहरुको पाइन्छ। यस्तो अबस्थामा मृत्यु गर्दा गरिने संस्कारलाइ कसरी बैध र शास्त्र सम्मत बनाउंदै बदलिँदो परिस्थिति सुहाउँदो बनाउन सकिन्छ भन्ने गम्भीर चुनौती सबैको सामु उभिएको छ।
हिन्दु संस्कारहरु हिन्दु धर्मावलम्बी बीच पनि एइक्यबद्ध रुपमा मनाउने गरिन्न। ठाउं, क्षेत्र र जातजाति अनुसार यो फरक छ। यस्तो अबस्थालाई अलि ब्यबस्थित गर्दै शास्त्र सम्मत संस्कार निर्माणमा भूमिका निर्बाह गर्दै अनाबस्यक कुरीति हटाइ धर्म प्रतिको नकारात्मक धारणा हटाउन संस्कार सुधार समाज स्थापना गरिएको छ। समय सापेक्ष रुपमा हाम्रा संस्कार बद्लिएनन र शास्त्रको भाव प्रतिकुल नहुने र भावी पुस्ताले अंगाल्न असजिलो नहुने गरी हाम्रा परम्परागत संस्कारमा सुधार गर्न जडबत हुने हो भने हाम्रो धर्म माथि नै असर पर्न सक्ने देखिन्छ। आशा गरौँ, आगामी दिनमा हाम्रा राम्रा संस्कारहरुलाई परिस्कृत गर्दै आगामी पुस्ताको समेत आबस्यकतालाइ सम्बोधन हुनेछ। संस्कृतिमा रहेको हाम्रो जडबत धारणा बदल्न सक्यौं भने मात्र हाम्रो धर्म र संस्कृति संसारभर फैलिनेमा ढुक्क हुन सकिन्छ।