संसद् चल्न नपाउँदा स्थानीय निकायको चुनाव प्रभावित: मन्त्री केसी
चितवन, ९ पुस । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले संसद् चल्न नपाउँदा स्थानीय निकायको चुनाव गर्ने सरकारको योजनामा बाधा पुगेको बताउनुभएको छ ।
जमुनापुर हेल्थ सोसाइटी रत्ननगर चितवनले निर्माण गर्न लागेको सामुदायिक भवन शिलान्यास तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्ने हँुदा संसद् रोकेर बाधा नपु¥याउन प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
उहाँले लोकतान्त्रिक पद्धतिको विरुद्धमा नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टी लाग्न नहुने बताउनुभयो । तत्कालीन समयमा एमालेको नेतृत्वमा नै सरकार रहँदा जुन प्रस्ताव नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति गरी लैजान लाग्दा मधेसी मोर्चाले नमानेपछि रोकिएको भन्दै उहाँले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो ।
विसं २०७४ माघसम्ममा तीनै तहको निर्वाचन गर्न सरकार तयार रहेको भन्दै संसद् नै रोकेर काम अघि बढाउन नदिनु विपक्षी र जिम्मेवार दलले खेल्नुपर्ने भूमिका नभएको उहाँले बताउनुभयो । राष्ट्रियताको सवालमा नेपाली काँग्रेस कोही कसैसँग नझुक्ने भन्दै उहाँले बरु सरकार छाड्न काँग्रेस तयार छ तर राष्ट्रियताको सवालमा झुक्दैन भन्नुभयो ।
सो अवसरमा चितवन क्षेत्र नम्बर २ का सांसद शेषनाथ अधिकारीले सामुदायिक भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा (एमाले) चितवनका सचिवालय सदस्य विनोद रेग्मी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईलगायतले बोल्नुभएको थियो ।
सोसाइटीले खरिद गरेको दुई कट्ठाको जग्गामा सामुदायिक भवन निर्माण गर्न लागिएको हो । संस्थाका अध्यक्ष रवीन्द्रजङ्ग थापाका अनुसार रु दुई करोडको लागतमा २०० जना अट्ने सभा हल, ५० जनाले अध्ययन गर्न मिल्ने पुस्तकालय, स्वास्थ्य क्लिनिक, सामुदायिक सहकारी केन्द्र, तरकारी बजारलगायत समुदायलाई अत्यावश्यक स्थानको रुपमा विकास गरिनेछ ।
संस्थाका सल्लाहकार शिवराम केसीका अनुसार सो भवन निर्माणका लागि आधा रकम स्थानीयस्तरमा र बाँकी रकम अन्य सरकारी एवम् गैरसरकारी निकायसँग जुटाइँदैछ । दुईतले सो भवन भवन दुई हजार ३०० वर्ग फिटको रहनेछ । भवनको एक वर्ष छ महिनाभित्र निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।