दुर्घटना पिडितहरुको सहयोगको लागि अपिल
मृत्यु अबस्यम्भावी भए पनि यो सबभन्दा अप्रिय घटना हो। मान्छे चाहे जति सुकै उमेरको होस्, मृत्युलाइ सहज मानिदैन। कम उमेरको मृत्यु त झन् भयाबह हुन्छ। त्यो भन्दा झन् भयाबह अवसरको खोजीमा बिदेशिएको व्यक्तिको मृत्यु हुँदा हुन्छ। आफ्नै गाउँ, ठाउंमा हुने मृत्यु भन्दा त्यो प्रलयकारी हुन्छ। पैसा कमाउन वा अन्य बाध्यताको कारण बिदेसिएको मान्छेको मृत्यु कहालीलाग्दो हुन्छ। त्यसमाथि परिवार सहितको मृत्युले मान्छेलाई अत्यन्तै संबेदनशील बनाउछ। तर नियतिको खेल टारेर टार्न सकिन्न। कालले उमेर भन्दैन, ठाउं भन्दैन। यो निर्मम र निर्दयी हुन्छ। यतिबेला अमेरिकाको नेपाली समाज त्यहि निर्दयी कालको निर्णयले स्तब्ध छ।
जर्जिया राज्यको जेफर्सन काउन्टीमा शुक्रबार एउटा दुर्घटना भयो। निसान अल्टिमा गाडी जसमा ६ जना सवार थिए, १८ पाङ्ग्रे ट्रक संग अचानक जुध्न पुग्यो। त्यसमा सवार ६ जना मध्य पछिल्लो सिटमा बसेका सबै जनाको घटनास्थल मै मृत्यु भयो भने अगाडी बसेका दुइ जनाको अस्पतालमा उपचार भैरहेको छ। मृत्यु हुनेहरुमा प्रतिमा सुबेदी, रीचा पन्त, चिरन्जीवी खनाल र जीवनहरि खनाल छन्। जर्जियाको सभानाबाट फर्किने क्रममा उनीहरु दुर्घटनामा परेका थिए। उक्त घटनमा बाचेका समीर खनाल युनिभर्सिटी अफ जर्जियामा बिध्याबारिधी गर्दै थिए भने सुभास खनाल मेडिकल डाक्टर बन्न रेसिडेन्सी गर्दै थिए।
स्तब्ध नेपाली समाज यतिबेला मृतकहरुको शव ब्यबस्थापन गर्न सहयोग जुटाउने अभियानमा लागेको छ। जर्जिया युनिभर्सिटीको नेपाली बिद्यार्थी संगठनले आर्थिक संकलन अभियान शुरु गरेको छ जसमा तपाईंले आफ्नो योगदान पुर्याउन सक्नुहुन्छ। विपद सबैलाई एकै चोटी पर्दैन। जसलाई विपद पर्छ त्यसलाई सहयोग गर्नु हाम्रो धर्म हो। आउनुहोस तपाईं हामी मिलेर जति सकिन्छ त्यति सहयोग गरौँ। सहयोगको लागि तलको लिंकमा क्लिक गर्नु होला।
https://www.gofundme.com/helpforsameer