टेक्सासको डेण्टनमा छठ धुमधामले मनाइने
नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव भत्काउन प्रयास गरे पनि आजको दिनसम्म सफल भएका छैनन् । नेपालीहरुले एक अर्कालाई सम्मान गर्दै अरु समुदायको चाड मनै देखि मनाउने गर्छन ।
नेपालीहरुको त्यो परम्परा प्रबाशमा पनि जारी छ । दशैं र तिहार मात्र होइन, अन्य चाड पनि धुमधाम संगै मनाइन्छ बिदेशमा । आउंदै गरेको तिहारको लगत्तै पछि तराई क्षेत्रमा बिशेष र धुमधाम साथ मनाइने छठ पर्ब आउंदै छ । तराई क्षेत्रमा बस्ने नेपालीहरुको संख्या अमेरिकाको टेक्सासमा बाक्लो छ । तराइमा बिशेष रुपले मनाइने हुनाले तराई बासि नेपाली दाजुभाईहरुको बिशेष पहलमा डेण्टन नेपाली समाजले छठ पूजा आयोजना गरेको छ । अमरनाथ शाहको अध्यक्षतामा गठित डेण्टन छठ पूजा समितिले त्यसको कार्यतालिका प्रकाशित गर्दै सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।
उक्त कार्यक्रम नोभेम्बर ६ गते आइतबार बेलुकी ४ देखि ७ बजे सम्म संचालन हुनेछ भने नोभेम्बर ७ सोमबार बिहान ६ बजे देखि ८ बजे सम्म संचालन हुने उक्त बिशेष छठ पूजामा महा प्रसाद समेत वितरण गरिने जानकारी गराइएको छ । उक्त छठ पूजामा सहभागी हुन् वा अन्य तरिकाले संलग्न हुन चाहनेले अमरनाथ शाह, सन्तोष, महेन्द्र, दिनेश र उमेशलाई सम्पर्क गर्न सकिने पनि जानकारी गराइएको छ ।
छठ के हो र कसरि मनाइन्छ ?
छठलाइ छठी, छठ पूजा, छठ पर्ब, डाला छठ, डाला पूजा र सुर्य षस्टि जस्ता बिभिन्न नामले चिनिन्छ । यो सुर्य भगवान र उषा अर्थात् सुर्य भगवानकि पत्नी अर्थात् छठि मैयाँमा समर्पित सनातन हिन्दु बैदिक चाड हो । हिन्दु धर्म प्रकृतिको पुजारी धर्म हो । बिभिन्न खाले चाडमा बिभिन्न खालका प्रकृतिका उपहारको पूजा गरे जस्तै छठ पर्वमा सुर्य भगवानले मानव र समस्त प्राणी जगतमा प्रकाश र तापले सेवा गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न पूजा गर्नुको साथै आफ्ना इच्छाहरु पुरा गरिदिनको लागि पनि आव्हान गर्ने गरिन्छ । चार दिनसम्म मनाइने चाडमा सुर्य स्नान, उपासना, जल स्नान र प्रसाद र अर्घ्य सुर्योदय र सुर्यास्त हुँदाको सूर्यलाई अर्पण गर्दै सम्पन्न गरिन्छ । यो नेपालको मिथिला क्षेत्र र नेपाल भारत सिमावर्ती क्षेत्रहरुमा धुमधाम साथ् मनाउने गरिन्छ भने पछिल्ला दिनहरुमा नेपालका प्रमुख शहरी क्षेत्रमा समेत मनाउन थालिएको छ ।