माग पूरा नभए कार्तिक ४ र ५ गते उपत्यकाका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको चेतावनी
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना दिने समितिले जनाएको छ । त्यस्तै कार्तिक ३,४ र ५ गते रिले अनसनमा बस्ने र कार्तिक ४ र ५ गते उपत्यकाभित्रका सम्पूर्ण सामूदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने समेत चेतावनी दिएको छ ।
कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए ।
शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्ष्कलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, उमेरहदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्धन्द्धपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गी पूनर्वहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे मागहरु समितिले अघि सारेको छ ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी बनाउने प्रयत्न अब सफल हुनै नसक्ने स्पष्ट पारे । उनले महासंघ शतप्रतिशत शिक्षकहरुको हकहितको पक्षमा रहेकोले उनीहरुको जायज माग पूरा गर्न दबाब दिन तयार रहेको विश्वास दिलाए ।
अध्यक्ष निरौलाले विद्यालयमा पठनपाठन नै ठप्प पार्नेगरि आन्दोलन गर्नुको अब कुनै औचित्यता नै नभएको दाबी गरे । उनले अघि थपे,‘हामी अब असफल हुने आन्दोलमा किन होमिने ? सफल हुनेगरि होमिनुपर्छ ।’ उनले आन्तरिक प्रतिष्पर्धामा सहभागी हुने र गोल्डेन ह्याण्डसेक लिएर औषधि उपचार उपदान लिने दुईवटा विकल्प रहेको समेत बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नेगरि सबै सरोकारवालाहरुसँग विशेष अन्र्तक्रिया भए समाधानको उपाय निस्कने विश्वास दिलाए ।
थापाले अघि थपे,‘हाम्रो प्रयत्न भनेको अब निकास दिने हो, अस्थायी शिक्षकहरुको समस्या हामी सबैको समस्या हो, अब खण्डित आन्दोलन गरेर हुँदैन, एकिकृत आन्दोलन गर्नुपर्छ ।’ यद्धपी थापाले माग पूरा गराउन गरिने दबाबमूलक कार्यक्रममा विद्यालयको पठनपाठन नै ठप्प पार्ने घोषणामा भने सहमत हुन नसक्ने स्पष्ट पारे ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसीले अस्थायी शिक्षकहरुको माग पूरा गराउने कुरामा सरकार गम्भिर हुनुपर्ने धारणा राखे ।
त्यस्तै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न दबाबमूलक कार्यक्रम मार्फत सरकारलाई ध्यानाकार्षण गराउनेगरि साक्षात्कार, बहस र अन्र्तक्रियात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अघि थपे,‘मिडियाको तर्फबाट म उहाँहरुको माग पूरा गराउन विशेष पहल गर्छु, हामी आगामी दिनमा क्लबको साक्षात्कार कक्षमा मन्त्री, सरोकारवालाहरु र अस्थायी शिक्षकहरुको वीचमा विशेष अन्र्तक्रिया गर्नेछौं ।’